आहा एबीसी !

एबीसीका नामले परिचित यो स्थानमा ट्रेकिङ जान ७ देखि ११ दिनसम्म लाग्छ । ४ हजार १ सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण बेस क्याम्प कम खर्चिलो र सजिलो पदमार्गका रुपमा चर्चित छ ।

पदयात्रामा रूचि हुनेहरुको छनोटमा पर्ने मनोरम एवम् आकर्षक स्थान हो—अन्नपूर्ण बेस क्याम्प (एबीसी) । हिमालै हिमालले घेरिएको अन्नपूर्ण बेस क्याम्प स्वदेशी तथा विदेशी पर्यटकका लागि आकषर्णको केन्द्र मानिन्छ ।

एबीसीका नामले परिचित यो स्थानमा ट्रेकिङ जान ७ देखि ११ दिनसम्म लाग्छ । ४ हजार १ सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण बेस क्याम्प कम खर्चिलो र सजिलो पदमार्गका रुपमा चर्चित छ । साहसिक पदयात्रा मन पराउनेहरुले यो रूट छान्न सक्छन् । ढकमक्क फुलेका लालीगुराँसहरुको बास्ना लिँदै अन्नपूर्ण बेस क्याम्प पुग्ने जोकोही अवश्य नै लोभिन्छन् ।

विश्वका उत्कृष्ट पदमार्गहरुमा पर्ने यो पदमार्गमा बर्सेनि करिब २५/३० हजार विदेशी पर्यटक पुग्छन् । यो सङ्ख्या प्रत्येक वर्ष बढ्दो छ । पछिल्लो समय नेपालीहरु पनि पदायत्रामा जाने क्रम बढिरहेकाले अन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।

यति ठूलो सङ्ख्यामा विदेशी पर्यटक लोभ्याउने यही अन्नपूर्ण आधार शिविरबाट देखिने सूर्योदयले पर्यटकलाई आनन्दित मात्र तुल्याउँदैन, अर्कै संसारमा पुगेको आभाससमेत दिन्छ । यही दृश्य हेर्ने आकाङ्क्षा बोकेर पर्यटक उकालो चढ्ने गर्छन् ।