जेठभित्रै नयाँ एटीआर जहाज भित्र्याउँदै यती

केही महिनाअघि नै ल्याउने तयारी गरिएको सो जहाज एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि रोकिएको थियो ।

काठमाडौं । निजी क्षेत्रको अग्रणी एयरलाइन्सका रुपमा रहेको यती एयरलाइन्सले जेठभित्रै नयाँ एटीआर जहाज भित्र्याउने भएको छ । सो जहाज थाइल्यान्डबाट ल्याउन लागिएको हो ।

एयरलाइन्सका सिनियर म्यानेजर भीमराज राईले जहाज ल्याउनका लागि आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए । जहाज जेठको २९ वा ३० गते काठमाडौं आइसक्ने उनको भनाइ छ । केही महिनाअघि नै ल्याउने तयारी गरिएको सो जहाज एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि रोकिएको थियो ।

यतीले १ महिना अघिमात्र नयाँ एटीआर जहाज ल्याएको थियो । जेठमा नयाँ जहाज आएसँगै पोखरालगायत विभिन्न क्षेत्रमा उडान तालिका थप गर्ने योजना यतीको छ । यस्तै एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्टान्डबाई राखिने भएको छ । कुनै क्षेत्रमा जहाज ढिलो भएमा विमानस्थलमा रहेको जहाज तत्काल उडाउने प्रयोजनका लागि राख्न लागिएको म्यानेजर राईले बताए । यसरी विमानस्थलमा स्टान्डबाई राख्न लागिएको यो पहिलो पटक हो । यती एयरलाइन्समा आउने यात्रुलाई सिट नभएकै कारण फर्कन नपरोस् भनेर यस्तो गर्न लागिएको बम्पनीले जनाएको छ ।

हाल यती एयरलाइन्ससँग ४ ओटा एटीआर र ५ ओटा जेटस्ट्रिम जहाज छन् । यतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट, पोखरा, नेपालगञ्ज, भैरहवा, भद्रपुर, जनकपुर, विराटनगर, भरतपुर र तुम्लिङटार गन्तव्यका लागि दैनिक २५ देखि ३० उडान गर्दै आएको छ ।