भ्रमण वर्षको पूर्वसन्ध्यामा हिमालयन ट्राभल मार्ट हुँदै, ४१ देशका ७०० जनाले सहभागिता जनाउने

हिमालयन प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु नेपाललाई स्थापित गराउने उद्देश्यले हिमालयन ट्राभल मार्ट काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुन लागेको हो ।

काठमाडौं । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण हुने भएको छ । हिमालयन प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु नेपाललाई स्थापित गराउने उद्देश्यले हिमालयन ट्राभल मार्ट काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुन लागेको हो ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवंम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय र सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन(पाटा) नेपाल च्याप्टरले काठमाडौंमा मार्टको आयोजना गर्न लागेको हो । जेठ २३ देखि २६ गतेसम्म हुने मार्टमा ४१ देशका ७ सय जनाले सहभागिता जनाउने छन् ।

नेपाललाई हिमालयन प्रवेशद्वारको रुपमा परिचित गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा काठमाडौंमा आयोजना हुँदै आएको छ । भ्रमण वर्षलाई सफल बनाउन मार्टको तेस्रो दिन ८ तारिखमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियाहरुलाई नेपालका पर्यटकीय गन्तव्यबारे ब्रिफिङ गरिने पाटाको तयारी रहेको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकसित हुँदै गएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए । हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वब्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान प्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्वारा विजनेश–टु–विजनेस मार्टको परिकल्पना गरिएको बताए ।

यो पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ ओटा मुलुक नेपाल, भारत, पाकिस्तान, चीन भुटान र थाइल्याण्डबाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने उल्लेख छ ।

मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्रावल ब्लर्गस तथा मिडिया प्रतिनिधीहरुलेसमेत सहभागिता जनाउने छन् । हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धेरै पर्यटन श्रोत बजारहरुबाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको विश्वास छ । मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको पाटा नेपालको भनाइ छ ।

मार्टमा अफिसीयल होटल तथा इभेन्ट भेन्यूको रुपमा सोल्टी क्राउन प्लाजा तथा अन्तर्राष्ट्रिय एयरलाईन्सतर्फ कतार एयरवेज, एयरअरेबीया, डुक एयर र हिमालय एरलाइन्स रहेका छन्, भने आन्तरिकतर्फ यती एयरलाइन्स र बुद्ध एयरले सहयोग गरेको जनाएको छ ।

यसैगरी काठमाडौं मेरियट होटल तथा होटल आकामाले मार्टमा सहभागी प्रतिनिधिहरुका लागि रात्रीभोजको प्रायोजन गरेको छ । प्रिमियम पार्टनरको रुपमा शिखर इन्सुरेन्स, इभेन्ट पार्टनर नेपाल इन्भेष्टमेन्ट बैंक र सिबेक हस्पिटलले हेल्थ पार्टनरको रुपमा सहयोग गर्दै आएको जनाएको छ । यस्तै एनसेलले कम्पुनिकेसन पार्टनरको रुपमा सहयोग गरेको छ ।