वायुयानका पार्टपुर्जामा भन्सार बढाइएको भन्दै हवाईसेवा बन्द गर्ने सञ्चालकहरुको चेतावनी

नयाँ व्यवस्थासँगै वायुयानका पार्टपुर्जा छुटाउन नपाएको र हाल वायुसेवाहरुसँग जेठ २३ गतेसम्मलाई मात्र जगेडा पार्टपुर्जा रहेकाले पार्टपुर्जा अभावकै कारण बाध्य भएर हवाईसेवा बन्द हुने अवस्था आएको सङ्घले जनाएको छ ।

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ नेपालले सरकारले वायुयानमा लाग्ने अधिकांश पार्टपुर्जाहरुको भन्सार दस्तुर ३० प्रतिशतसम्म पु¥याएको भन्दै सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । सङ्घले जेठ २२ गते बिहिबारबाट निजी विमान कम्पनीका सम्पूर्ण हवार्इ सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

सङ्घले सोमबार विज्ञप्तिमार्फत विगतमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्दै आएका वायुयान पार्टपुर्जामा जेठ १५ गतेदेखि नै भन्सार महसुल बढाएर ३० प्रतिशत लाग्ने व्यवस्था गरेपछि सञ्चालहरु आन्दोलित भएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आर्थिक ऐन पेस गर्दै वायुयानमा लाग्ने अधिकांश पार्टपुर्जामा ३० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने व्यवस्था गरेका छन् । नयाँ व्यवस्थासँगै वायुयानका पार्टपुर्जा छुटाउन नपाएको र हाल वायुसेवाहरुसँग जेठ २३ गतेसम्मलाई मात्र जगेडा पार्टपुर्जा रहेकाले पार्टपुर्जा अभावकै कारण बाध्य भएर हवाईसेवा बन्द हुने अवस्था आएको सङ्घले जनाएको छ ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार इन्जिन, प्रोपेलर, रोटर ब्लेड, ह्विल ब्रेक, स्टेरिङ, ल्यान्डिङ गियर, विन्डसिल जस्ता सीमित पार्टपुर्जाहरुको मात्रै एक प्रतिशत भन्सार शुल्क र ‘अन्य पार्टपुर्जा’मा ३० प्रतिशत भन्सार शुल्क लाग्नेछ । यसरी सीमित पार्टपुर्जामा मात्रै एक प्रतिशत भन्सार लाग्ने व्यवस्थाप्रति वायुसेवा सञ्चालक सङ्घले आपत्ति जनाएको छ ।

बढी भन्सार तिरेर सामान छुटाउन नसक्ने भन्दै सङ्घले वायुयानमा लाग्ने सम्पूर्ण पार्टपुर्जाहरुको विगतअनुसार नै भन्सार दरबन्दी १ प्रतिशत मात्र हुने गरी आवश्यक पहल गरिदिन पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, भन्सार विभाग, नेपाल नागरिक उड्ययन प्राधिकरण तथा सम्बन्धित कार्यालयहरुमा आग्रह गर्दा पनि मौखिक आश्वासन मात्रै आउने गरेको भन्दै तत्काल समस्या समाधान गरिदिन आग्रह गरेको छ ।