५ लाखभन्दा बढी सरकारी कर्मचारीलाई जलविद्युत आयोजनाको सेयर, आयोजना छनोट र खाका तयार हुँदै

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीलाईसमेत जलविद्युत आयोजनाको सेयर दिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको सेयर सहभागितामा उपयुक्त आयोजना विकास गरिने उल्लेख छ ।

आयोजना निर्माणमा लगानी जुटाउन सरकारले कर्मचारीलाई पनि सेयर किन्ने अवसर दिने भएको हो । निजामति कर्मचारी, शिक्षक, सेना, प्रहरीगरी ५ लाखभन्दा बढीले राज्यको ढुकुटीबाट तलव लिइरहेका छन् ।

जनतालाई जस्तै राष्ट्र सेवकलाई पनि जलविद्युत आयोजनाको सेयर दिने बजेटमा उल्लेख गरिएकाले छलफल थाल्ने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले बताए । बजेटमा कार्यक्रम आइसकेकाले यस विषयमा मन्त्रालयले छिट्टै काम अघि बढाउने उनले सुनाए ।

कर्मचारीलाई सेयर दिने आयोजनाको छनोट, लगानीको खाकालगायत विषयमा मन्त्रालयले निर्णय गर्न बाँकी छ । आयोजना छनोट र लगानीको खाकाविनै बजेटमा कार्यक्रम आएको छ । यता कर्मचारी संचय कोषले पनि संचयकर्तालाई पनि सेयर लगानी गर्न अवसर दिँदै आएको छ ।

चालु आर्थिक वर्षमा ऊर्जा मन्त्रालयले छरिएर रहेका पुँजीलाई जलविद्युत आयोजनामा परिचालन गर्न सरकारले जनताको जलविद्युत कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ ‘बी’ र रसुवागढी जलविद्युत आयोजना जनताको जलविद्युत अन्र्तगत निष्कासन भइसकेको छ । ३ हजार ५०० मेगावाट क्षमताका १८ आयोजनामा जनताको सहभागिता रहेने छ ।