४० करोडमा बनेको ‘रिमोर्ट पार्किङ वे’ सञ्चालनमा, अन्तर्राष्ट्रिय पार्किङ वे को संख्या ११ पुग्यो (तस्बिरसहित)

नयाँ पार्किङ मंगलबारदेखि सञ्चालनमा ल्याइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । नयाँ पार्किङसहित अन्तर्राष्ट्रिय पार्किङ वे को संख्या ११ पुगेको छ ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो ।

उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन ओटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । नयाँ पार्किङ मंगलबारदेखि सञ्चालनमा ल्याइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । नयाँ पार्किङसहित अन्तर्राष्ट्रिय पार्किङ वे को संख्या ११ पुगेको छ ।

 महाप्रबन्धक क्षेत्रीले पार्किङ क्षेत्र निर्माण भएसँगै विमानस्थलको चाप व्यवस्थापनमा सहज हुने बताए । यसअघि पार्किङको समस्याका कारण पनि विमानस्थलमा जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका थिए ।

उनका अनुसार ४० करोड ५० लाख रुपैयाँको लागतमा झण्डै १६ महीनाको अवधिमा पार्किङ क्षेत्र बनाइएको हो। एक मात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ। विमानस्थलको दक्षिणपूर्वी क्षेत्रमा समेत नयाँ पार्किङ वे निर्माण भइरहेको छ । यसमा पनि दुई ओटा वाइडबडी जहाज राख्न सकिने विमानस्थलले जनाएको छ ।

सामान्यतया अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ। त्यहाँ जहाज राख्नुको मतलब सम्भावित क्षति न्यूनीकरण गर्नु हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ क्षेत्र बनाइएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ बाट वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन । रासस