बाँदरमुढेमा स्मृति उद्यान बनाउन १२ करोडको डीपीआर निर्माण

घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो ।

चितवन । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताए । उद्यान निर्माण गर्न १२ करोडको डीपीआर निर्माण भएको उनले जानकारी दिए ।

उद्यान निर्माण गर्न डीपीआर सम्पन्न भई अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । प्रमुख ढकालका अनुसार यो उद्यानमा पर्यटकीय पूर्वाधार निर्माण हुनेछ । उद्यानमा फन पार्क, मृतक सबैका शीर कुँदिएका स्मारक बनाउने, माडीको संस्कृति, वेषभूषा झल्कने सङ्ग्रहालय बनाउने र सबैले पूजा गर्न मिल्ने गरी मन्दिर बनाउने योजना नगरपालिकाको छ ।

राष्ट्रिय आधारभूत विद्यालय बाँदरमुढे र दिवाकर स्मृति विद्यालयसँग मर्ज हुन लागेकाले उद्यानलाई चाहिने जग्गा सहजरूपमा प्राप्त भएको उहाँको भनाइ छ । विस २०६२ जेठ २३ गते यात्रुबाहक बसमा शक्तिशाली एम्बुस पडकिएर ४२ ले ज्यान गुमाएका थिए । रासस