आजदेखि सी–आस्वा, घरैबाट सेयर भर्न सकिने

सीडीएस एन्ड क्लियरिङ हाउस लिमिटेडले केन्द्रीकृत प्रणाली (सी–आस्वा)लाई कार्यान्वयनमा ल्याएसँगै अब सेयर आवेदनका लागि लाइन बस्नुपर्ने र बैङ्कमा धाउनुपर्ने, फर्म फेरिफाई गर्नुपर्नेजस्ता समस्याको समाधान भएको हो ।

धितोपत्र बजारमा जान चाहनेहरुका लागि दिनप्रतिदिन सजिलो हुँदै गएको छ । पछिल्ला दिनहरुमा धितोपत्रसम्बन्धी कारोबारलाई सरलीकृत गर्दै लगेपछि सेयर लगानीकर्तालाई सजिलो भएको हो । खासगरी साधारण सेयरका रुपमा चिनिने प्राथमिक निष्कासन (आइपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद सेयर भर्न लाइन लाग्नुपर्ने झन्झट आज (शुक्रबार) देखि हटेको छ ।

सीडीएस एन्ड क्लियरिङ हाउस लिमिटेडले केन्द्रीकृत प्रणाली (सी–आस्वा)लाई कार्यान्वयनमा ल्याएसँगै अब सेयर आवेदनका लागि लाइन बस्नुपर्ने र बैङ्कमा धाउनुपर्ने, फर्म फेरिफाई गर्नुपर्नेजस्ता समस्याको समाधान भएको हो । यसरी गरिने आवेदन विधि पूर्ण रुपमा अनलाइन प्रणालीमा आधारित भएकाले तथ्याङ्क प्रशोधन गर्न समय लाग्दैन । अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथचा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने व्यवस्था नै सी–आस्वा हो ।

अहिलेको व्यवस्थाले निष्कासन बन्द भएको भोलिपल्ट वा पर्सिपल्ट नै सेयर बाँडफाँट गर्न सकिने भएकाले सेयर नपर्ने लगानीकर्ताले पनि सेयर नपरेको रकम तुरुन्तै उपयोग गर्न पाउँछन् । तर, सी–आस्वा लागू भएको पहिलो चरणमा भेरिफाईलगायतका कारण बढीमा एक हप्ताभित्र बाँडफाँट गर्न सकिने गरी व्यवस्था मिलाएको सीडीएसीले जनाएको छ । अबदेखि लगानीकर्ताले घरैमा बसेर अनलाइनमार्फत सेयर भर्ने सुविधा उपयोग गर्न सक्नेछन् ।

सी–आस्वा अनिवार्य भएसँगै आईपीओमा अन्य व्यक्तिका नाममा सेयर भर्ने प्रवृत्ति पनि निरुत्साहित हुनेछ । तर, अनलाइन पहुँच नभएको स्थानका लगानीकर्ताले भने आफनो पायक पर्ने बैङ्क तथा वित्तीय संस्थाबाट अनलाइनबिनै पनि सेयर भर्न पाउने व्यवस्था मिलाइएको छ । हाल ६० ओटा बैङ्क तथा वित्तीय संस्थाले सी–आस्वाको सदस्यता लिइसकेका छन् । सी–आस्वामा दर्ता भएपछि प्राप्त हुने सी–आस्वा रजिस्ट्रेसन (सीआरएन) नम्बरका आधारमा सेयर आवेदन दिन पाइन्छ । सीडीएसले सी–आस्वालाई अनिवार्य गरेपछि बैङ्क तथा वित्तीय संस्थाले सूचना प्रकाशित गरी सी–आस्वामार्फत सेयरको आवेदन दिन सीआरएन नम्बर लिन बोलाएका छन् । बैङ्कले खाता खोल्न, हितग्राही खाता (डिम्याट एकाउन्ट) र सीआरएन नम्बर लिन भनेका छन् । त्यस्तै सीआरएन नम्बर लिएर मात्र सेयर आवेदन गर्ने व्यवस्थाले लगानीकर्ताबाट हुने हितग्राही खाता नम्बरको त्रुटि पनि हट्नेछ ।

सी–आस्वामार्फत सेयर आवेदन गर्न लगानीकर्ताले आस्वा सेवा भएको बैङ्क तथा वित्तीय संस्थामा गएर सुरुमा सी–आस्वा प्रणाली सुविधा लिन आवेदन दिनुपर्छ । त्यसपछि बैङ्कले लगानीकर्ताको पहिचान गरी सफ्टवेयरमा भेरिफिकेसन गरिदिन्छ र लगानीकर्तालाई एउटा सीआरएन (सी–आस्वा रजिस्ट्रेसन) नम्बर दिन्छ । त्यही सीआरएन नम्बर प्रयोग गरी लगानीकर्ताले आगामी दिनमा घर वा कार्यालय वा जहाँकहीँ बसेर पनि मोबाइल र कम्प्युटरका माध्यमबाट बैङ्कमा नगई हरेक पटक आईपीओ, एफपीओ, हकप्रद र सामूहिक लगानीकोषका इकाइ खरिद गर्न सक्छ । तर, यसरी खरिद गर्दा सम्वन्धित बैङ्कले केही शुल्क लिन सक्छ भने आफूले खरिद गर्ने मूल्यबराबरको रकम बैङ्कमा रहेको आफ्नो खातामा अनिवार्य हुनुपर्छ । सी–आस्वा कार्यान्वयनमा आए पनि सान्जेन जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनामा सेयर भर्ने सञ्चय कोषका कर्मचारी, सञ्चयकर्ता भने आफ्नो खाता भएको बैङ्कमै गएर सेयर भर्नुपर्नेछ । यी आयोजनाले पनि आजैदेखि फागुन ३० सम्म आवेदन खुला गरेका छन् ।