‘रिमोट पार्किङ वे’ सञ्चालनमा आएसँगै आकाशमा जहाज होल्ड हुने समस्या हट्यो

पर्याप्त पार्किङ नभएकै कारण धेरै अन्तर्राष्ट्रिय उडान लामो समयसम्म आकाशमै होल्ड गर्नुपर्ने भन्दै चौतर्फी दबाब बढेपछि विमानस्थलमा पार्किङ निर्माण कार्य अगाडि बढाइएको थियो ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिमोट पार्किङ वे सञ्चालनमा आएसँगै आकाशमा जहाज होेल्ड हुने समस्या कम भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले करिब १६ महिनाको मेहनतपछि पार्किङ वे निर्माण भएको बताउँदै चाप भएकै कारण जहाज आकाशमा होल्ड हुने समस्या पूर्णरुपमा समाधान भएको बताए ।

पर्याप्त पार्किङ नभएकै कारण धेरै अन्तर्राष्ट्रिय उडान लामो समयसम्म आकाशमै होल्ड गर्नुपर्ने भन्दै चौतर्फी दबाब बढेपछि विमानस्थलमा पार्किङ निर्माण कार्य अगाडि बढाइएको थियो ।

तर निर्माण व्यवसायीको ढिलाइले रोकिएको सो आयोजना स्व. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अगाडि बढाएका थिए । उनले वैशाखभित्रै सञ्चालनमा ल्याउने गरी काम सम्पन्न गर्न निर्माण कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र विमानस्थललाई दबाब दिँदै आएका थिए । ‘मन्त्रीकै दबाबका कारण पार्किङ वे छिटो बनेको हो,’ क्यानका एक अधिकारीले भने, ‘तर उनैले आज काम देख्न पाएनन् ।’

मङ्गलबारबाटै सञ्चालनमा आएको पार्किङ वे बिहीबार मात्र पर्यटन सचिव मोहनकृष्ण सापकोटाले उद्घाटन गरेका हुन् । करिब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको सो पार्किङ वेमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन ओटासम्म जहाज पार्किङ गर्न सकिन्छ । नयाँ पार्किङसहित अन्तर्राष्ट्रिय पार्किङ वेको सङ्ख्या ११ पुगेको छ ।

विमानस्थलको दक्षिणपूर्वी क्षेत्रमा समेत नयाँ पार्किङ वे निर्माण भइरहेको छ । यसमा पनि दुई ओटा वाइडबडी जहाज राख्न सकिने विमानस्थलले जनाएको छ ।