अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित

आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिने बताइन्छ । 

गलकोट । बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् ।

व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र बिक्री गरिएको अलैँचीकोसमेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको बताएका छन् ।

दमेकका कृषक बलिभद्र सापकोटाले अलैँचीले उचित मूल्य नपाउँदा किसानको दुःख खेर गएको प्रतिक्रिया दिए । व्यावसायिक रुपमा अलैँचीका बिरुवा बेच्दै आएका सापकोटाले यस वर्ष अलैँचीको दाना प्रतिकेजी ८०० रूपैयाँमा बेच्न बाध्य भएको बताए ।

तीन वर्षअघिसम्म प्रतिकेजी दुई हजार २०० मा बेच्दै आएका सापकोटाले प्रत्येक वर्ष अलैँचीको मूल्य घट्दै गएको बताए । “तीन वर्षअघि प्रतिकेजी दुई हजार २०० मा बेचेको अलैँची यो वर्ष ८०० रूपैयाँमा बेचेको छु”, सापकोटाले भने, “वर्षेनी मूल्य घट्दा पेशा नै सङ्कटमा पर्ने डर भयो ।” अघिल्लो वर्ष एक हजार ५०० मा अलैँची बिक्री भएको उनले बताए ।

छिमेकीमुलुक भारतमा प्रतिकेजी तीन हजार २०० मा बिक्री भइरहँदा आफूहरुले मनग्य आम्दानी हुने देखेर अलैँची लगाएको बताउँदै अर्का कृषक मदु अम्बाइले अलैँचीको मूल्य घट्दा समस्यामा परेको उल्लेख गरिन् । दमेकमा २० रोपनी जग्गामा अलैँचीखेती गरेकी अम्बाइले प्रत्येक वर्ष अलैँचीको मूल्य घटिरहँदा लगानी उठाउनै गाह्रो भएको बताए । अलैंचीको दाना र बिरुवा बेच्दै आएकी अम्बाइले शुरुको वर्ष तीन लाख कमाइ गरे पनि अहिले भने जस्तो नभएको बताइन् ।

“अलैँची राम्रो आम्दानीको स्रोत भए पनि मूल्य घट्नुले अलैँचीखेतीप्रति सन्तुष्ट नभएको अर्का कृषक गोपालप्रसाद सापकोटाले बताए । “शुरुमा अलैँचीको राम्रो व्यापार देखेर २० रोपनी जग्गामा अलैँची लगाएँ”, सापकोटाले भने, “वर्षेनी अलैँचीको मूल्य घट्न थालेपछि अलैँचीखेतीबाट असन्तुष्ट भएको छु ।”

महत्त्वपूर्ण र महङ्गो मसलाका रूपमा प्रयोग हुने अलैँची खास गरी भारतमा निर्यात हुने गर्दछ । अलैँचीको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ । मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन अलैंचीको तेल प्रयोग गरिने बताइन्छ । आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिने बताइन्छ ।

अरब देशमा चिया र कफी बनाउन तथा युरोपियन देशमा उच्चकोटीको मदिरा तयार गर्न अलैँचीको प्रयोग गरिन्छ । सौन्दर्य प्रसाधन निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिका रूपमा अलैँची प्रयोग गर्ने गरिन्छ । जैमिनी नगरपालिकाका–२ र ३ का अधिकांश बाँझो जग्गामा करिब २०० रोपनी क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।  –खेमराज गौतम/रासस