दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हुँदै

पुँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन् । 

खस्यौली । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पुँजी बजारको दोस्रो सेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् ।

पुँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन् ।

लगानी स्कुल काठमाडौँ र सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले संयुक्त रुपमा आयोजना गरेको सेयर बजारसम्बन्धी कार्यशालामा सरोकार भएकाले बजारमा व्यावहारिक रणनीति अवलम्बन गरेर पनि नाफा लिन सकिने बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राडा मनोहरकृष्ण श्रेष्ठले सेयर बजार जसले बढी किनबेच गर्छ उसले कहिल्यै पनि बजारबाट नहार्ने उल्लेख गर्दै प्राथमिक सेयरलाई दोस्रो बजारमा एकबाट अर्कोमा हस्तान्तरण गरेर हुर्काउन सकिने बताए ।

उनले बजार बढ्दा सेयरहोल्डमा नराख्न लगानीकर्तालाई आग्रह गर्दै मार्जिन आएपछि नाफा लिन सक्नुपर्ने बताए । प्रा श्रेष्ठलाई सेयर बजारमा ४० वर्षको लामो अनुभव छ । लगानी स्कुलका सुदर्शन कडरियाले पुँजी बजारमा जुन व्यवहार हुन्छ त्यसका आधारमा बजार निर्धारण हुने उल्लेख गर्दै जोखिमको क्षेत्र भएकाले संवेदनशील रुपमा लगानी गर्न आग्रह गरे ।

त्रिभुवनविश्वविद्यालयका उप–प्राध्यापक फुलप्रसाद सुवेदीले सेयर बजारलाई महाभारतको संज्ञा दिँदै पूँजी बजारको प्रवृत्तिलाई बुझ्नसक्ने हुनुपर्छ भने । उनले भने, “स्थिर भएर धैर्यताका साथ लगानी गरे त्यसले पछाडि फर्कनुपर्ने अवस्थाको अन्त गर्छ ।”

सेयर बजारसम्बन्धी जानकार सन्तोषराज बजगाइँले अहिले बजारमा नयाँ लगानीकर्ता फसिरहेको आैंल्याउँदै अहिलेको मुख्य समस्या तरलता भएको बताए । लगानी होल्डिङ रिसर्चका राजकुमार केसीले सेयर बजारमा सधैँ एउटै रणानीतिले काम नगर्ने उल्लेख गर्दै उनले सेयर गाई, भैंसी पालेको जस्तो नभएकाे जिकिर गरे ।

प्रदेश ५ का विभिन्न जिल्लाबाट सेयरसम्बन्धी शिक्षा लिन लगानीकर्ता बुटवल आएका थिए । खासगरी दाङ, कपिलवस्तु, परासी, नवलपुर, पाल्पा, अर्घाखाँचीबाट करिब ७० जना सहभागी भएको बताइएको छ ।

पुँजी बजारको ‘हब’का रुपमा विकास हुन लागेको प्रदेश ५ मा रहेका कुल नौ ब्रोकर (दलाल) कार्यालयमध्ये पाँच बुटवलमा, एक भैरहवा, एक दाङ र दुई नेपालगञ्जमा छन् । बुटवलका ब्रोकर कार्यालयबाट दैनिक एक करोडको कारोबार हुँदै आएको छ । रासस