क्यान, पाइलट र विमानस्थलको प्रष्टीकरणः नेपाल एयरलाइन्सको दिल्ली उडानमा केही भएको छैन

दिल्ली उडान गरेर नेपाल आइपुगेका विमानका कोपाइलट घिमिरेले क्यापिटल नेपालसँग कुरा गर्दै आइतबार बिहान कुनै त्यस्तो घटना नभएको बताए । ‘एयरबसको उडान आफ्नो पहिलो भएकाले आफूलाई फसाउन विभिन्न स्रोतबाट दुस्प्रचार मात्र भएको हो’, कोपाइलट घिमिरेले भने ।

काठमाडौं । आइतबार बिहान ८ बजे काठमाडौंबाट नयाँ दिल्ली उडानका लागि तयार भएको नेपाल एयरलाइन्सको एयरबस ३२०–२०० जहाज सामान्यरुपमा नै उडान गरेर नेपाल आइपुगेको छ ।

बिहान नयाँ दिल्ली उडान गर्नुअघि आईआरएस सिस्टम अन नगरी टेकअफका लागि रनवे गएको र दुर्घटनाबाट बचेको विमानस्थल स्रोतले दिएको जानकारीका विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरण, सम्बन्धित पाइलट र विमानस्थलले नै केही नभएको प्रतिक्रिया दिएका छन् ।

आईआरएस सिस्टमले पूर्णरुपमा काम गर्न करिब १० मिनेट लाग्छ । तर, नेपाल एयरलाइन्सका पाकिस्तानी पाइलट मोहमद घानी र नेपाली को–पाइलट उद्धव घिमिरेको कमान्डमा रहेको जहाजले आईआरएस सिस्टम नै अन नगरी जहाज पार्किङ वेबाट रनवेतर्फ लगेको विमानस्थलका एक कर्मचारीले जानकारी गराएका थिए ।

दिल्ली उडान गरेर नेपाल आइपुगेका विमानका कोपाइलट घिमिरेले क्यापिटल नेपालसँग कुरा गर्दै आइतबार बिहान कुनै त्यस्तो घटना नभएको बताए । ‘एयरबसको उडान आफ्नो पहिलो भएकाले आफूलाई फसाउन विभिन्न स्रोतबाट दुस्प्रचार मात्र भएको हो’, कोपाइलट घिमिरेले भने । ‘मसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रतिनिधिहरु समेत दिल्ली जानु भएको छ, कोपाइलट घिमिरेले भने, जहाजमा कुनै समस्या आएको छैन, यता कसरी हल्ला फिँजियो ?’

जहाजमा पाइलट क्याप्टेन मोहम्मद घानी, कोपाइलट घिमिरे र नागरिक उड्डयन प्राधिकरणका उडान सुपरिवेक्षक डीआर निरौला सहभागी थिए ।

नागरिक उड्डयन प्राधिकरणका उडान सुपरिवेक्षक निरौलाले पनि नेपाल एयरलाइन्सको दिल्ली उडानमा कुनै घटना नभएको बताए । ‘म आफैं दिल्ली पुगेर नेपाल फर्किसकेको छु, म उडानको निरीक्षण नै गर्न गएको हुँ त्यस्तो केही भएको छैन,’ उनले भने, ‘कसैले प्रायोजित हल्ला मात्र चलाएको हुन सक्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल एयरलाइन्सको दिल्ली उडानमा कुनै खराबी र समस्या भएको जानकारी आफूलाई नभएको बताए । ‘सामान्य गडबडी भए पनि मलाई जानकारी हुन्छ, आजको उडानमा त्यस्तो केही जानकारी नै आएको छैन,’ उनले भने ।