आलु खेतीबाट आम्दानी

अमरगढी नगरपालिकाका साथै अन्य गाउँपालिका, भागेश्वर, अजयमेरु र गन्यापधुराका किसान पनि आलुखेतीतिर आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । 

डडेल्धुरा । बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् ।

जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए । अमरगढी नगरपालिकाका साथै अन्य गाउँपालिका, भागेश्वर, अजयमेरु र गन्यापधुराका किसान पनि आलुखेतीतिर आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–१ तडिवाटा, ६ दमडा र वडा नं ७ पोखराका किसानले तीनमहिने ‘कार्डिनल’ जातको आलु लगाएर राम्रो आम्दानी गर्न सफल भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अन्न बालीका लागि ६ महिना पर्खनुपर्ने बाध्यता भएको तर आलु एक वर्षमा तीन पटक लगाउँदा अपेक्षाभन्दा बढी आम्दानी हुने अमरगढी–७ का किसान वसन्तीदेवी भण्डारीको भनाइ छ । उनले भनिन्, “आलुखेती गरेर आम्दानी मात्र गरेका छैनौँ, किसान समूहमा बचत पनि गरेका छौँ ।”

“बढी फाइदा आलु खेतीमा रहेछ, अन्नबाली लगाएर जोगाउन कठिन पनि हुने परिश्रम पनि बढी लाग्ने भएकाले आलुखेतीमा लागेका हौं”, किसान प्रिया कठायतले भनिन् ।

मूल बीउ रोप्ने अमरगढी–७ पोखरा आसपासका २४० घरधुरीका किसानले सोचे जस्तै उपलब्धि हासिल गरिरहेको उनको भनाइ थियो । जिल्लाका किसानले यो मौसममा पनि मकै लगाउन छोडेर तरकारी नै लगाउने गरेको पाइएको छ । आलु, काउली, गोलभेँडालगायत व्यावसायिक तरकारी खेतीमा पुरुषको तुलनामा महिलाको सक्रियता बढी छ । यो खेतीमा धेरै समय महिलाले दिन्छन् । कतिपय महिला किसान आफ्नो व्यक्तिगत खर्चका लागि श्रीमान् तथा अन्य परिवारको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको वसन्तीदेवी भण्डारीको अनुभव छ ।

अमरगढी नगरपालिकामा मात्र शरदकालीन, हिँउदे र बर्खे बालीका रुपमा आलुखेती गरिन्छ । त्यसबाट प्रत्यक्ष रुपमा एक माेसममा किसानले ५० लाख आम्दानी गर्ने गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । रासस