रैथाने जातका धानको बीउ लोप हुँदै

पछिल्लो समय बजारमा पाइने विभिन्न थरिका धानको बीउबाट उत्पादन धेरै हुने, पानी कम लाग्ने भएपछि किसानको यसतर्फ आकर्षण बढेकोे कृषि शाखा कार्यालय रामपुरका कृषि विकास अधिकृत रामहरि पाण्डेयले बताए ।

रामपुर । पाल्पा जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमति, झिनुवा, आमझोत्ते,लगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको किसानको भनाइ छ ।

पछिल्लो समय बजारमा पाइने विभिन्न थरिका धानको बीउबाट उत्पादन धेरै हुने, पानी कम लाग्ने भएपछि किसानको यसतर्फ आकर्षण बढेकोे कृषि शाखा कार्यालय रामपुरका कृषि विकास अधिकृत रामहरि पाण्डेयले बताए । उनले उत्पादन बढी हुने, धानको नल छोटो हुने र स्याहार्न पनि सजिलो हुने भएपछि किसान उन्नत धानको बीउतर्फ आकर्षित भएकाे बताए ।

सावा मनसुनी, शान्ति, जानकी, जीरामसिना, साना मनसुली, युएस, खुमल चार लगायतका धान खरीद गरेर अहिले किसान धानको बीउ राख्न व्यस्त देखिन्छन् । नयाँ उन्नत जातका धानको बीउ लगाएपछि कीरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण किसानले पहिले पहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । किसानले परम्परागत शैलीमा कृषि कार्य गर्न छाडेको र विभिन्न प्रविधिको प्रयोगले कृषि क्षेत्र सहज बन्न थालेको छ ।

पुराना धानबाट खाना स्वाादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ किसानको ध्यान कम जान थालेको किसान हुमादेवी देवकोटाले बताइन् । जिल्लाको आठ हजार ६२० हेक्टर क्षेत्रफल धानका लागि उपयुक्त रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

रामपुरका किसान सूर्यप्रसाद रेग्मीले पछिल्लो समय ‘हाइब्रिड’ भनेपछि धेरै फल्ने लोभमा किसान प्रभावित भएको बताए । हाइब्रिड जातका धानभन्दा पुराना नेपालमा उत्पादन हुने धान धेरै स्वादिलो र फाइदाजनक भए पनि यसको महत्त्व किसानले बुझ्न नसकेको उनको धारणा छ । सातबिसे सेरा धानको बीउ उत्पादन पकेट क्षेत्र रामपुरका संयोजक रहेका रेग्मीले आफ्नो समूहले राम्रो जातका धानको बीज वृद्धिसमेत गर्दै आएको जानकारी दिए ।

पाल्पा जिल्लाका माडीफाँट, अर्गलीफाँट, हेक्लाङ्फाँट, रामपुरफाँट, दोभानलगायतका फाँट धान उत्पादनका लागि पकेटक्षेत्र मानिन्छ । रामपुर नगरपालिकाभित्र मात्रै एक हजार ८०० हेक्टर क्षेत्रफलमा गत वर्ष करिब सात हजार ६५० मेट्रिक टन धान उत्पादन भएको कृषि शाखा कार्यालयले जनाएको छ ।   रासस