आगामी साता सेयर बजार बढ्ने सम्भावना

यो साता नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको धेरै रकमबराबरको कारोबार भएको छ । सेन्चुरी कमर्सियल बैङ्कको धेरै कारोबार तथा सेयर किनबेच भएको छ । यो साता संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताभर बियरिस ट्रेन्डमा देखियो । यो साताभर नेप्से घट्दो क्रममा रहे पनि आगामी साता बजार बढ्ने सम्भावना भने बढेको छ ।

नेप्से सूचक निरन्तर घटेको भए पनि विगतको न्यून बिन्दुभन्दा तल नगएको हुनाले बजार फर्कने आशामा सेयर लगानीकर्ता छन् । १४ सयभन्दा तल आएको नेप्से सूचक गत साताको अन्तिम दिन केपी ओली प्रधानमन्त्री भएपछि ३६ अङ्कले वढेर पुनः १४ सय माथि गएको थियो । यो साता त्यो सुधार घटेर पुनः १३ को लाइनमा झरेको छ । तर, सेयर बजार सूचक यसभन्दा अघि १३८० मा पुगेर फर्केको थियो । तर, यो साता नेप्से सूचक १३८६.९८ मा रोकिएको छ । ओली प्रधानमन्त्री बनेको खबरले ३६ अङ्कले बढेको बजार सूचक यो साताभर घटेको हो । सेयर बजार घट्दो क्रममा हुँदा एकपछि अर्को न्यून बिन्दु बनाउँछ भने बढ्ने क्रममा एकपछि अर्को नयाँ उचाइ ।

यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १४२४.९५ अङ्कमा रहेको नेप्से यो साताभर ३७.९७ अङ्कले घटेर १३८६.९८ अङ्कमा झरेको छ । यो साता नेप्सेमा कारोबार भएका ४ दिन नै बजार सूचक घटेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ८ अङ्कले घटेको छ ।

यो साता नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचक घटेका छन् । यो साताभर बैङ्किङ २७.४९, विकास बैङ्क ४९.२९, वित्त १६.३३, लघुवित्त ७६.२१, होटल ६५.०५, जलविद्युत् ८१.२६, बिमा २८९.६८, उत्पादनमूलक ८.३१, व्यापार ३.०४ र अन्य ११.०९ अङ्कले घटेका छन् ।

यो साता नेप्से सूचक घटेको भए पनि कारोबार रकममा भने केही सुधार आएको छ । नेप्सेमा १७६ कम्पनीहरुको १८ हजार ६ सय ४ कारोबारबाट एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँबराबरको ४२ लाख ४८ हजार सात सय ३० कित्ता सेयर खरिदबिक्री भएका छन् । यो कारोबार रकम गत साताको तुलनामा १०.७५ प्रतिशत धेरै हो । गत साता नेप्से १७९ कम्पनीहरुको १६ हजार ६ सय ३८ कारोबारबाट एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँबराबरका ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए ।

यो साता नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको धेरै रकमबराबरको कारोबार भएको छ । सेन्चुरी कमर्सियल बैङ्कको धेरै कारोबार तथा सेयर किनबेच भएको छ । यो साता संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।