पर्यटकीय पदमार्ग निर्माण सुरु

बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ ।

लमजुङ । यहाँका एक पर्यटकीय पदमार्गको निर्माणकार्य सुरु भएको छ । बेँसीशहर नगरपालिका–६ पुमागाउँ घरबासदेखि सोही क्षेत्रमा रहेको ऐतिहासिक कन्यादेवी मन्दिर जाने बाटोमा सिँढी निर्माणको काम भइरहेको छ ।

उक्त गाउँबाट मन्दिरसम्म पुग्न ५०० मिटर लामो सिँढी निर्माण भइरहेको वडासदस्य वीरेन्द्र गुरुङले बताए । उनका अनुसार जेठ १२ गतेबाट सुरु भएको उक्त कार्यको करीब १०० मिटर लामो सिँढी र रेलिङको निर्माण भइसकेको छ ।

एक मिटर ६० सेन्टिमिटर चौडाइ रहने सिँढी बालुवा र सिमेन्टले निर्माण गरिरहेको निर्माण समितिका अध्यक्ष तथा पुमागाउँ घरबास व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए ।

निर्माणाधीन सिँढी गण्डकी प्रदेश सरकारको १० लाख अनुदान, बेँसीशहर नगरपालिकाको साढे एक लाख र स्थानीयवासीको करीब तीन लाख बराबरको श्रमदान हुने गरी निर्माण भइरहेको स्थानीयवासी तथा वडासदस्य गुरुङले भने।

उक्त निर्माणकार्य सम्पन्न गर्नका लागि सो बजेटले आधा मात्रै काम हुने र बाँकी अपुग रकम प्रदेश सरकार, नगरपालिकालगायतसँग माग गरी निर्माण पूरा गरिने समितिले जनाएको छ ।

समितिका अनुसार निर्माणकार्य सम्पन्न गर्नका लागि कम्तीमा पनि ५० लाख आवश्यक पर्ने भएको छ । अहिले सहयोग आएको बजेटको काम आगामी असारभित्र सम्पन्न गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको छ ।

घरबासमा आउने पर्यटक उक्त मन्दिरसम्म जानका लागि सहज होस् र मन्दिरको समेत प्रचारप्रसार पुग्ने उद्देश्यले सिँढी निर्माणकार्य भइरहेको छ । पर्यटकीय एवं धार्मिकस्थल भएर पनि प्रचारप्रसार हुननसकेको स्थानीयवासीले बताएका छन् ।

उक्त मन्दिरमा महीनाको शुक्रबार र बुधबार दुई दिन मात्रै पूजाआजा हुने गरेको छ । यहाँ विभिन्न मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ ।