सगरमाथा हिमाल आरोहणका क्रममा ५ वर्षमा ५५ जनाले ज्यान गुमाए

पर्याप्त तालिम नलिएका र ट्रेकिङ एजेन्सी छनौट गर्दा सस्तोको पछि लाग्दा धेरैले ज्यान गुमाएको सेभेन समिटका सिनियर गाइड एवम् विश्व रेकर्डधारी कामीरिता शेर्पाको भनाइ छ ।

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणका क्रममा ५ वर्षमा ५५ जनाले ज्यान गुमाएका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यले सबैभन्दा बढी सन् २०१४ र १५ मा १६÷१६ जनाले ज्यान गुमाएको जानकारी दिइन् ।

निर्देशक आचार्यका अनुसार २०१६ मा ५ जना, १७ मा ५ जना, १८ मा ४ र १९ मा ९ जनाले ज्यान गुमाएका हुन् । यस वर्ष सगरमाथा हिमालमा ट्राफिक जामका कारण धेरैको ज्यान गएको समाचार प्रकाशन भइरहेका छन् । पर्यटन विभागले भने ट्राफिक जामका कारण नभई आरोहीकै लापरबाहीका कारण निधन भएको जनाएको छ ।

विभागका अनुसार २०१९ को वसन्तकालीन मौसमका लागि सगरमाथा हिमाल आरोहण गर्न ४४ दललाई अनुमति पत्र जारी गरिएको र उक्त ४४ दलमा ३ सय ८१ जना आरोही र सहयोग गर्न ६ सय ४२ जना सरदार, गाइड र शेर्पा छन् । अनुमतिप्राप्त आरोही २ सय ८१ जना र आरोहीका सहयोगी ३ सय ७८ गरी ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेको उल्लेख छ ।

पर्याप्त तालिम नलिएका र ट्रेकिङ एजेन्सी छनौट गर्दा सस्तोको पछि लाग्दा धेरैले ज्यान गुमाएको सेभेन समिटका सिनियर गाइड एवम् विश्व रेकर्डधारी कामीरिता शेर्पाको भनाइ छ ।

उनले हिमाल आरोहण गर्ने भनेको आफैंमा जोखिम काम भएकाले अनुभवी शेर्पा र गाइड लिएर गएमा जोखिम कम हुने बताए । तर पछिल्लो समय फेसनका रुपमा हिमाल आरोहण हुन लागेको उनको भनाइ छ ।

पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानुनी, संरचनागत, कार्यविधिगत सुधारका लागि सुझाव दिन प्रधानमन्त्रीस्तरबाट पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा सुझाव समिति गठन भएको छ ।

समितिले हाल उठाइएका विषयका अतिरिक्त यससँग सम्बन्धित सबै विषयमा गम्भीरतापूर्वक अध्ययन गर्ने जनाएको छ । साथै पर्वतारोहणका क्षेत्रमा देखापरेका विषयहरुप्रति अत्यन्त संवेदनशील साथै यस क्षेत्रलाई सुरक्षित बनाउन सुधारका लागि विभाग तयार रहेको जनाएको छ ।