धवलागिरि आधार शिविर जान पहरामा बन्यो फराकिलो बाटो

भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँ बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको छ ।

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।

भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँ बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको छ ।

सो खण्डको नौ किलोमिटर ४०० मिटर अप्ठ्यारो पदमार्गमा बाटो फराकिलो बनाउने र ढुङ्गाको सिँढी चिनेर पदमार्ग मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । उनका अनुसार, ६० प्रतिशत खण्डमा साँघुरो बाटो फराकिलो बनाउने र ४० प्रतिशत खण्डमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ ।

त्यसैगरी सो बजेटबाट बगरको जेल्तुङदेखि सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्गसमेत मर्मत गरिएको छ । यो वर्ष सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको १५ लाख रुपैयाँ बजेटबाट इटालीक्याम्पदेखि स्वीस क्याम्पसम्मको पदमार्गसमेत निर्माण गरिएको छ ।

करीब दुई किलोमिटर ५०० मिटर पदमार्गलाई मर्मत र फराकिलो बनाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए । इटाली क्याम्पका एक मात्रै होटल व्यवसायीसमेत रहनुभएका तिलिजाका अनुसार पदमार्ग निर्माणसँगै धवलागिरि आधार शिविर र चक्रीय धवलागिरि र हिमाल आरोहणका लागि जाने पर्यटकलाई सहज भएको छ ।

उनले हिमपहिरोले बगाएको ठाउँ भीरमा नयाँ पदमार्ग बनाइएको छ भने चौरवनदेखि इटाली क्याम्पसम्मको अप्ठ्यारो ठाउँको पदमार्गलाई फराकिलो बनाइएको बताए । बजेटको लागत अनुमानअनुसार एक हजार ७०० मिटर पदमार्ग निर्माण गर्नुपर्ने भए पनि रकम बचत भएपछि करीब एक किलोमिटर पदमार्ग थप मर्मत गरिएको हो ।

यो वर्ष नै इटाली क्याम्पमा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ३२ लाख रुपैयाँ बजेटबाट सूचना केन्द्र र आकस्मिक स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु भएको छ । मन्त्रालयको अनुदान, स्थानीयवासीको जनश्रमदान र गाउँपालिकाको १० प्रतिशत लगानीमा सूचना केन्द्र र आकस्मिक स्वास्थ्य उपचार केन्द्रको भवन निर्माण शुरु भएको गाउँपालिकाले जनाएको छ ।

पदमार्गअन्र्तगत सबैभन्दा जोखिमपूर्ण मानिने नाउराभीरमा तत्कालीन द्वन्द्वको समयमा माओवादीले श्रम शिविर तथा पर्यटकबाट चन्दा उठाएर पदमार्ग निर्माण सुरु गरेको कार्यलाई शान्ति स्थापनापछि तत्कालीन जिविस र गाविसमार्फत विनियोजन भएको बजेटबाट भीरमा पदमार्गको ट्र्याक निर्माण भएको थियो ।

मनोरम हिमश्रृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य यस पदमार्गको मुख्य आकर्षण रहेको छ । रासस