यूएई जाने कामदारलाई दूतावासको सास्ती

यूएई सरकारले गत फेब्रुअरी ४ देखि नयाँ नियम लागू गर्दै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने कामदारले अनिवार्य रुपमा आचरण तथा चालचलनको प्रमाणपत्र पेस गर्नुपर्ने नियम लागू गरेको थियो ।

रोजगारीका लागि यूएई जाने कामदारलाई अनिवार्य पुलिस रिपोर्ट र त्यो रिपोर्ट दूतावासमार्फत प्रमाणीकरण गर्नुपर्ने बाध्यताले त्यहाँ जान इच्छुक कामदार २ सातादेखि सास्ती बेहोरी रहेका छन् ।

यूएई सरकारले गत फेब्रुअरी ४ देखि नयाँ नियम लागू गर्दै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने कामदारले अनिवार्य रुपमा आचरण तथा चालचलनको प्रमाणपत्र पेस गर्नुपर्ने नियम लागू गरेको थियो । सोही नियमअनुसार कामदार आफैं रिपोर्ट लिएर दूतावासमा प्रमाणीकरणका लागि जानुपर्ने बाध्यताले लाजिम्पाटस्थित यूएई दूतावासमा युवाहरुको बाक्लो भीड लागेको छ । दैनिक ५ सयभन्दा केही बढी व्यक्तिको मात्र प्रमाणीकरण हुने दूतावासमा २ हजारभन्दा बढीको लाइन हुन थालेपछि समस्या भएको हो ।

 

दूतावासमा पुलिस रिपोर्ट प्रमाणीकरण गर्नका लागि टोकन लिन यूएई जान चाहने युवा मङ्गलबार बिहान दुई बजेदेखि नै लाइनमा बसेका थिए । भीड बढेपछि प्रहरीले एकै छिन हस्तक्षेपसमेत गर्नुपरेको थियो ।

सुनसरीका रन्जितकुमार कामतीले बिहान २ बजेदेखि लाइनमा बसेको बताए । ‘लाइनमा छु, चाउचाउ खाएर बसेको छु, ट्वाइलेट पनि जान पाएको छैन’, उनले भने ।

दूतावासले पुलिस रिपोर्ट लिएर कामदार आफै प्रमाणीकरण गर्न आउनुपर्ने नियम बनाएर दुख दिएको वैदेशिक रोजागर व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङ बताउँछन् । ‘दूतवासले अनावश्यक शुल्क लिएर कामदारलाई अव्यवस्थित रुपमा लाइनमा राखेको छ, नेपाल सरकार मौन छ, दूतावास केही बोल्दैन’, उनले भने । सङ्घले पटक पटक बैठक गर्न खोज्दा दूतावासले समय नदिएको उनले बताए ।

यूएईले भिजिट भिसाका लागि भने नयाँ नियम लागू गरेको छैन । यूएईमा करिब दुई लाख ५० हजार नेपाली कामदार छन् ।