थामिएन सेयर बजारको पहिरो

बुधबार नेप्सेमा १६० कम्पनीको ५ हजार २ सय ५९ कारोबारबाट ५४ करोड ३४ लाख रुपैयाँबराबरको १३ लाख ३७ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भएको छ ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रमले बुधबार निरन्तरता पाउन सकेन । मङ्गलबार ६ अङ्कले बढेको नेप्से बुधबार करिब १९ अङ्कले झरेको हो ।

पछिल्लो समयमा नेप्से परिसूचक बियरिस टे«न्डमा देखिएको छ । नेप्से सूचक घट्दा कारोबार रकममा भने सुधार आएको छ । कारोबार रकम बढ्नु भनेको सेयर लगानीकर्ता बिक्री गर्नेतर्फ लागेको बुझिन्छ । बिक्री गर्नेसँगै सेयर बिन्ने पनि देखिएको छ । तर, सेयर मूल्य घटेर पनि लगानीकर्ता धितोपत्र बिक्री गर्न तयार भए पनि बजार अझै घट्ने सङ्केत देखिन्छन् ।

यो साताको सुरुवातदेखि घट्न थालेको नेप्सेमा मङ्गलबार भने सुधार आएको थियो । तर, त्यो सुधारले बुधबार नै निरन्तरता पाउन सकेन । नयाँ सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा भएकाले पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । खतिवडा नेपाल राष्ट्र बैङ्कको गभर्नर हुँदा सेयर बजार र जग्गामा कडाइ गरेका थिए । अर्थमन्त्री खतिवडा भएपछि पनि सेयर बजारमा असर गर्ने त्रासले लगानीकर्ता सेयर बिक्री गर्न थालेका हुन् ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार सूचकमा परेको छ । नेप्से सूचकमा १९ अङ्कको गिरावट आएसँगै कारोबार रकममा पनि समान्य गिरावट आएको छ । मङ्गलबारको तुलनामा कारोबार रकम घटेको भए पनि पछिल्ला दिनको नेप्सेको औसत कारोबार रकमभन्दा धेरै हो ।
नेप्सेमा कारोबार सुरु हुँदा १३६४.८१ अङ्कमा रहेको नेप्से सूचक १८.८२ अङ्कले घटेर १३४५.९९ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अङ्कले घटेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचक घटेका छन् । नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैङ्किङ, १४.२९, होटल २८, वित्त ९.३७, अन्य १०.१५, लघुवित्त समूह २२.५३.९८, विकास बैङ्क १८.४६, जलविद्युत् २८.७८, बिमा १५१.२२, व्यापार ६.४२ र उत्पादनमूलक ४.६६ अङ्कले घटेका छन् ।

बुधबार नेप्सेमा १६० कम्पनीको ५ हजार २ सय ५९ कारोबारबाट ५४ करोड ३४ लाख रुपैयाँबराबरको १३ लाख ३७ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भएको छ ।