सेयर बजारमा पाँच खर्ब गुम्यो

२०७३ साउनमा नेप्सेको कुल बजार पुँजीकरण हालसम्मकै उच्च २० खर्ब ७० अर्ब ९९ करोड ५९ लाख रुपैयाँ थियो । तर, त्यो बजार पुँजीकरण घटेर बुधबारसम्ममा आइपुग्दा १५ खर्ब ७४ अर्ब ६ करोड ६९ लाख रुपैयाँमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मात्रै होइन, पछिल्लो समयमा बजार पुँजीकरण पनि उत्तिकै गिरावट आएको छ । धितोपत्रको दोस्रो बजारमा बढेको सेयरको आपूर्तिका कारण समग्र पुँजीबजारको आकार खुम्चिएको हो ।

विगतको तुलनामा सेयर बजारमा सूचीकृत हुने धितोपत्रको सङ्ख्या बढेको भए पनि सेयर मूल्यमा गिरावट आएपछि समग्र नेप्से तथा बजार पुँजीकरण करिब ५ खर्बले घटेको हो । नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरणलाई सेयर बजारको सम्पत्तिका रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत सेयरहरुको कुल बजार मूल्य अर्थात् सम्पूर्ण सूचीकृत कम्पनीको सेयरमूल्य र सेयर संख्याको गुणनफल नै बजार पुँजीकरण हो ।

२०७३ साउनमा नेप्सेको कुल बजार पुँजीकरण हालसम्मकै उच्च २० खर्ब ७० अर्ब ९९ करोड ५९ लाख रुपैयाँ थियो । तर, त्यो बजार पुँजीकरण घटेर बुधबारसम्ममा आइपुग्दा १५ खर्ब ७४ अर्ब ६ करोड ६९ लाख रुपैयाँमा झरेको छ । गतवर्षदेखि हालसम्मको करिब १९ महिनाको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण ४ खर्ब ९६ अर्ब ९२ करोड ९० लाख रुपैयाँ घटेको हो ।
२०७३ सउन १२ गते नेप्से सूचकले हासम्मकै उच्च बिन्दु १८८१ बनाएसँगै बजार पुँजीकरण पनि हालसम्मकै धेरै भएको थियो । सो बिन्दुबाट घट्न थालेको नेप्से परिसूचक बुधबारसम्ममा १३४५.९९ अङ्कमा झरेको छ । त्यसैगरी बजार पुँजीकरण पनि घटेर १५ खर्ब ७४ अर्बमा झरेको छ ।

सेयर बजार सुधारको गतिमा हुदाँ दैनिक २ अर्ब बराबरको सेयर कारोबार हुन्थ्यो । हाल दैनिक सेयर कारोबार रकम घटेर ३० देखि ५० करोड हाराहारीमा झरेको छ ।

बजार पुँजीकरण भने कम्पनीको सेयर र अघिल्लो दिनको अन्तिम मूल्यको गुणनफल भएकाले सेयर मूल्यसंगै पुँजीकरण पनि घट्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले बताए । ‘हाम्रो बजारमा संस्थापक सेयर र पब्लिक सेयर दुवै भए पनि कारोबार हुनेमा पब्लिक सेयर छ,’ उनले भने, ‘पछिल्लो समयमा देखिएको पुँजीकरणको कमी पनि पब्लिककै हो ।’ बजार पुँजीकरण घट्दा बजारको सम्पत्ति घट्ने उनले बताए । तर, बजारको वास्तविकता हेर्नका लागि प्mलोट इन्डेक्स अथवा फ्लोट मार्केट क्याप हेर्नुपर्ने उनको तर्क छ । बजार पुँजीकरण भनेको धितोपत्र बजारको एउटा इन्डिकेर भएकाले यसैका आधारमा निर्णय गर्न नहुने उनी बताउँछन् । बजारमा बोनस तथा हकप्रद सेयरको अधिक आपूर्ति भएको हुनाले पनि बजार घट्दो क्रममा देखिएको हो ।

बजार पुँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ । पछिल्ला दिनमा नेप्से परिसूचक, बजार पुँजीकरण र कारोबार रकम सबैमा कमी आएको छ । औसत दैनिक २ अर्बको कारोबार हुने बजारमा मुस्किलले ५० करोड रुपैयाँबराबरको सेयर कारोबार हुन गरेको छ ।