आइतबार नेप्सेमा १ सय ५१ कम्पनीको ५ हजार ९ सय ४३ कारोबारबाट ४८ करोड ३९ लाख रुपैयाँबराबरको १३ लाख ११ हजार ९ सय ४८ कित्ता सेयर खरिदबिक्री भएको छ ।
सेयर बजारको गिरावट डरलाग्दो अवस्थामा पुगेको छ । पछिल्लो समयमा निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ४१ अङ्कभन्दा धेरैले घटेको हो । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानी अनुत्पादक क्षेत्र भनेपछि सेयर लगानीकर्ताको मनोबल कमजोर देखिएको छ ।
बियरिस टे«न्डमा रहेको सेयर बजारमा अर्थमन्त्रीले सेयर बजारमैत्री नीति नलिने देखिए पनि सेयर लगानीकर्ताले बिक्री बढाएका हुन् । हालको बजारमा होल्ड गर्नभन्दा अहिले बिक्री गरेर घट्दो बजारमा पछि किन्ने योजनासहित सेयर बिक्री गर्दा बजार सूचकमा पहिरो गएको हो ।
सेयर बजार परिसूचक निरन्तर उच्च अङ्कले घटेर १२ सयको लाइमा आइपुगेको छ । यसअघि नेप्से सूचक २०७३ माघ २३ गते १२९६ अङ्कमा झरेको थियो । त्यसपछि बढेको बजार सूचक पुनः १८ सयभन्दा माथि पुगेर पुनः घट्न थालेको थियो । पछिल्लो समय देखिएको निरन्तरको गिरावटले नेप्से सूचक करिब १३ महिनायताकै न्यून बिन्दुमा झरेको छ । २०६५ भदौ १५ गतेको ११७५ को उच्च बिन्दु पार गरेपछि नेप्से २०७३ साउन १२ गते नेप्से हालसम्मकै उच्च अङ्क १८८१ अङ्कमा पुगेको थियो ।
अर्थमन्त्री खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्रको लगानी भनेपछि सेयर लगानीकर्ताको मानोबल कमजोर भएको कोहिनुर सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक भरत रानाभाटले बताए । ‘आइतबार सेयर बजारमा आएको उच्च अङ्कको गिरावट अर्थमन्त्रीको अभिव्यक्तिका कारण हो,’ उनले भने, ‘सेयर बजार अनुत्पादन क्षेत्र भए पनि सेयर बजारमैत्री नीति अर्थ मन्त्रालयल नलिने देखिएपछि लगानीकर्ता आत्तिएका हुन् ।’
पछिल्लो समयमा लगानीकर्ताले नयाँ सरकार गठन भएपनि बढ्ने अपेक्षा गरेको भए पनि बैङ्किङ प्रणालीमा देखिएको समस्या र बढ्दो ब्याजदरका कारण बजार घट्दो क्रममै रह्यो । नयाँ सरकार गठन भए पनि पनि सेयर बजारमैत्री नदेखिएपछि सेयर लगानीकर्ताले सेयर बिक्री चाप बढाएका हुन् ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयरमूल्य घटेपछि समग्र नेप्से परिसूचक घटेको हो । कारोबारको मध्य समयमा १२ सयको लाइनमा आएको नेप्से अन्तिम समयमा घट्दो क्रममा केही कमी आएपछि १३ सयभन्दा माथि नै रोकिएको हो ।
आइतबार कारोबार सुरु हुँदा १३४५.९९ अङ्कमा रहेको नेप्से ४१.५६ अङ्कले घटेर १३०४.४३ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अङ्कले घटेको छ । आइतबार नेप्सेका कारोबार भएका सम्पूर्ण समूहगत सूचक पनि घटेका छन् ।
आइतबार नेप्सेमा १ सय ५१ कम्पनीको ५ हजार ९ सय ४३ कारोबारबाट ४८ करोड ३९ लाख रुपैयाँबराबरको १३ लाख ११ हजार ९ सय ४८ कित्ता सेयर खरिदबिक्री भएको छ ।