सेयर बजार निरन्तर ओरालो, दुई दिनमा करिब ५८ अङ्कले घट्यो

सोमबार नेप्सेमा १ सय ५३ कम्पनीको ५ हजार २ सय ५६ कारोबारबाट ३९ करोड ५२ लाख रुपैयाँबराबरको ९ लाख ७७ हजार ४७ कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला दिनमा निरन्तर उच्च अङ्कले घट्न थालेको छ । ‘बियरिस टे«न्ड’मा रहेको सेयर बजारलाई सरकारको नीतिगत सहयोग नहुने त्रासमा लगानीकर्ता सेयर बिक्री गर्दा बजार सूचकमा उच्च अङ्कको गिरावट कायम रहेको हो ।

नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानी अनुत्पादक भएको हुनाले बैङ्क वित्तीय संस्थालाई लगानी गर्न नदिने भनेपछि सेयर लगानीकर्ताको मनोबल थप कमजोर भएको हो । घट्दो सेयर बजारमा अर्थमन्त्रीबाट नै सेयर बजार सहयोगी अभिव्यक्ति नआएपछि सेयर लगानीकर्ता बिक्री गर्न हतारिएका हुन् ।

सोमबार कारोबार सुरु हुँदा बढेको नेप्से दोहोरो अङ्कसम्मले वृद्धि भएको थियो । तर, कारोबार सुरु भएको करिब एक घण्टापछि घट्न थालेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयरमूल्य घटेपछि समग्र नेप्से परिसूचक घटेको हो । सोमबार नेप्से १२ सयको लाइनमा छ ।

सोमबार कारोबार सुरु हुँदा १३०४.४३ अङ्कमा रहेको नेप्से १६.६९ अङ्कले घटेर १२८७.८४ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ३.२४ अङ्कले घटेको छ । आइतबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचक पनि घटेका छन् ।

सोमबार नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ३५.४२, विकास बैङ्क ९.८७, वित्त ६.०९, लघुवित्त ४३.७६, जलविद्युत् ४५.४, उत्पादनमूलक ४६.४७, बिमा ११९.२१ र अन्य समूह १०.१९ अङ्कले घटेका छन् । तर, सोमबार कारोबार भएका होटल २.४८ तथा व्यापार समूह ६.८५ अङ्कले बढेका छन् ।

सोमबार नेप्सेमा १ सय ५३ कम्पनीको ५ हजार २ सय ५६ कारोबारबाट ३९ करोड ५२ लाख रुपैयाँबराबरको ९ लाख ७७ हजार ४७ कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो ।