अमेरिका पुर्याइएका बाह्राैं शताब्दीका मूर्ति फिर्ता हुँदै

अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त सङ्ग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ ।

विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुर्याइएका करिब ८०० वर्ष पुराना मूर्ति नेपाल पठाइने भएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त सङ्ग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार सङ्ग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन् ।

सन् १९८० को दशकमा नेपालबाट मूर्ति चोरी भएर विभिन्न बाटो हुँदै अमेरिका पुगेको थियो । चोरी भएका मूर्तिमा पाटनको उमामहेश्वर र बुद्धका मूर्ति छन् । ती दुवै मूर्ति नेपाली प्रस्तरकलामा आधारित बाह्रौँ र तेह्रौँ शताब्दीमा निर्माण गरिएको बताइएको छ । सङ्ग्रहालयले चोरीको मूर्ति प्रदर्शनीमा राख्ने आफ्नो नीति नभएकाले हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

सोमबार मूर्ति फिर्ता गर्न आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष विसले सङ्ग्रहालयमा अवैधानिक तरिकाले प्राप्त मूर्ति नरहून् भन्ने अभिप्रायले मूर्ति फिर्ता गर्न लागिएको बताए । महावाणिज्यदूत मरासिनीले पुरातात्विक महत्वका मूर्ति फिर्ता गराउन पहल गरेकामा सङ्ग्रहालयलाई धन्यवाद दिँदै यसले अवैधानिक तरिकाले मूर्तिको व्यापार गर्नेलाई निरुत्साहन गर्ने बताए ।

ती मूर्ति भन्सार मापदण्डको प्रक्रिया पूरा गरी अप्रिल (चैत–वैशाख)भित्र नेपाल पठाइसकिने गरी न्यूयोर्कस्थित कन्सुलर जनरलको कार्यालयले गृहकार्य गरेको छ । मधुकर अधिकारी –रासस