सेयर बजारमा ३१ अङ्कको गिरावट

गत साताको सुरुआतमा उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला दिनमा बढेको भएपनि यो साता निरन्तरता पाउन सकेन ।

अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर घटेको भनिएको बजारको सुधार टिक्न सकेन । गत साताको सुरुआतमा उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला दिनमा बढेको भएपनि यो साता निरन्तरता पाउन सकेन ।

गत साताभर ३१ अङ्कले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार नै ३१ अङ्कभन्दा धेरैले घटेको छ । अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि घटेको बजारमा सुधार आएको भएपनि यो साता सुधार आउने देखिएन ।

अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारको लगानी अनुत्पादक भनेपछि उच्च अङ्कले घटेको सेयर बजार बिना कारण सुधारको गतिमा देखिएको थियो । सेयर लगानीकर्ताको मनोबल कमजोर भएर पनि बजार घटेको हो । लगानीकर्ताको कमजोर मनोबलमा नीतिगत सम्बोधन आवश्यक भएको अवस्थामा अर्थमन्त्रीले नै सेयर बजारप्रति नकारात्मक अभिव्यक्ति दिएपछि लगानीकर्तामा त्रास बढेको हो । आइतबार सेयर बजारसँगै कारोबार रकम पनि घटेर ३२ करोडमा झरेको छ ।

आइतबार कारोबार सुरु हुँदादेखि घट्न थालेकोे नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १३१५.६९ अङ्कमा रहेको नेप्से ३१.०४ अङ्कले घटेर १२८४.०४ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ६.४० अङ्कले घटेको छ । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ २३.१५, विकास बैङ्क २५.६४, वित्त ८.६८, लघुवित्त ४५.५२, जलविद्युत् ६४.६५, बिमा २४३.१८, होटल ६३.५२, अन्य समूह १०.७५ र उत्पादनमूलक समूह भने ५२.१७ अङ्कले घटेका छन् ।

आइतबार नेप्सेमा १६० कम्पनीको ४ हजार ८ सय ३१ कारोबारबाट ३२ करोड ५१ लाख रुपैयाँ बराबरको ७ लाख ६३ हजार ५ सय ९१ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा कम हो ।