वित्तीय प्रणालीको ब्याजदर बढ्ने अवस्था आएपनि आइतबार ३१ अङ्कले घटेको सेयरबजार सोमबार पनि ७ अङ्कभन्दा धेरैले घटेको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज थप बढाउन थालेपछि सेयर बजार झन् अफ्ठ्यारोमा परेको छ । वित्तीय प्रणालीको ब्याजदर बढ्ने अवस्था आएपनि आइतबार ३१ अङ्कले घटेको सेयरबजार सोमबार पनि ७ अङ्कभन्दा धेरैले घटेको छ ।
पछिल्लो समयमा निरन्तर ओरालो लागेको सेयरबजार सूचक (नेप्से) लाई साना घट्नाक्रमले पनि ठूलो असर गर्ने गरेको छ । गत साता अर्थमन्त्रीले सेयर बजारप्रति चासो नदेखाएको भन्दै आक्रोसित बनेका सेयर लगानीकर्ता यो साता वित्तीय प्रणालीको ब्याजदरका कारण सेयर बिक्री सुरु गरेका छन् ।
एनआईसी एसिया र गोर्खाज फाइनान्सले बचत तथा मुद्दती निक्षेपको ब्याजदर बढाएपछि सेयर बजार प्रभावित भएको हो । सेयर बजार र वित्तीय प्रणालीको ब्याजदरको सम्बन्ध सधैं उल्टो रहन्छ । ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा सेयर बजार घट्ने गर्छ । अर्थमन्त्री युवराज खतिवडाले सरकारले ल्याउन लागेको स्वेतपत्रमा समेत सेयरलाई प्रोत्साहन हुने खालको सम्बोधन नगर्ने देखेपछि लगानी होल्डभन्दा पनि बिक्री गर्न थालेका हुन् ।
सोमबार सेयर बजार परिसूचक घट्ने÷बढ्ने गतिमा देखिएको छ । कारोबार सुरु हुँदादेखि घट्न थालेकोे नेपाल स्टक एक्सचेन्ज (नेप्से) मध्य समयमा बढेको थियो । तर, सुधारको क्रम पनि धेरै समय कायम रहेन । कारोबारको अन्तिम समयमा घटेर बन्द भयो । कारोबार सुरु हुँदा १२८४.०४ अङ्कमा रहेको नेप्से ७.०८ अङ्कले घटेर १२७७.०१ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स १.५९ अङ्कले घटेको छ ।
नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ७.२२, विकास बैङ्क १.०५, वित्त ३.३७, लघुवित्त १९.३, जलविद्युत् १३.१४, बिमा ६.६, होटल ३५.६९ र अन्य समूह ४.४५ अङ्कले घटेको छ । तर, उत्पादनमूलक समूह भने २०.९४ अङ्कले बढेको छ ।
सोमबार नेप्सेमा १५४ कम्पनीको ३ हजार ९ सय ९९ कारोबारबाट ३१ करोड ३१ लाख रुपैयाँ बराबरको ७ लाख ७० हजार ४ सय ८९ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा थोरै हो ।