नेप्सेमा कारोबार भएका अधिकांश बैङ्क वित्तीय संस्थाको सेयर मूल्यमा सुधार आएपछि समग्र बजार सूचक बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) घट्ने क्रम मङ्गलबार रोकिएको छ । पछिल्ला दिनमा निरन्तर घटेको नेप्से सूचक मङ्गलबार करिब ५ अङ्कले बढेको हो ।
नेप्से सूचक बढेको भए पनि कारोबार रकम भने उच्च दरमा घटेको छ । सोमबार ३१ करोड रुपैयाँबराबरको सेयर करोबार भएको नेप्सेमा मङ्गलबार २३ करोडको मात्र कारोबार भएको हो । नेप्से बढेको भए पनि करोबार रकममा सुधार आउन नसकेपछि सेयर लगानीकर्ताको मनोवल कमजोर नै रहेको देखिन्छ ।
बैङ्क तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज थप बढाउन थालेपछि सेयर बजार झन् अप्ठ्यारोमा परेको थियो । वित्तीय प्रणालीको ब्याजदर नबढाउने सहमतिअनुसार बैङ्कर्स एसोसिएसनले गरेको अनुरोध एनआईसी एसिया बैङ्कले फिर्ता लिने देखिएपछि सेयर बजार सकारात्मक भएको हो । एनआईसी एसिया बैङ्कले ब्याजदर बढाएर निक्षेप कल गरेपछि त्यसको असर सेयर बजारमा देखिएको थियो । बैङ्कर्स सङ्घको कडा चेतावनीपछि बैङ्कले फिर्ता लिने भन्ने हल्ला बाहिर आएपछि सेयर बजार बढेको हो ।
मङ्गलबार कारोबार सुरु हुँदा १२७७..०१ अङ्कमा रहेको नेप्से ४.८९ अङ्कले बढेर १२८१.९० अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.३ अङ्कले बढेको छ ।
नेप्सेमा कारोबार भएका अधिकांश बैङ्क वित्तीय संस्थाको सेयर मूल्यमा सुधार आएपछि समग्र बजार सूचक बढेको हो । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ५.७१, विकास बैङ्क १.४५, वित्त ३.१९, जलविद्युत् ९.३९, होटल ६१.५४ र अन्य समूह ७.१२ अङ्कले बढेका छन् । तर, उत्पादनमूलक समूह ३२.६५, लघुवित्त ४.२९ र बिमा १०.६८ अङ्कले घटेका छन् ।
मङ्गलबार नेप्सेमा १५६ कम्पनीको ३ हजार १ सय १७ कारोबारबाट २३ करोड ७० लाख रुपैयाँबराबरको ५ लाख ५५ हजार ७ सय २२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा निकै कम हो ।