नेप्सेमा १८ करोड मात्र कारोबार

बुधबार कारोबार सुरु भएदेखि घट्दो क्रममा देखिएको नेप्से अन्तिम समयमा बढेको हो । कारोबार सुरु हुँदा १२८१.९० अङ्कमा रहेको नेप्से ४.०६ अङ्कले बढेर १२८५.९६ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अङ्कले बढेको छ ।

सेयर बजार सूचकमा सुधार आए पनि कारोबार रकम अत्यन्तै न्यून भएको छ । सेयर बजार सूचक बढे पनि कारोबार रकममा गिरावट कायम रहनु भनेको सेयर लगानीकर्ताको मनोबल अझै कमजोर भएको हो ।

बुधबार नेप्सेमा १८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेप्सेको औसत दैनिक कारोबार रकम ६६ करोड रुपैयाँ छ । तर बुधबार नेप्सेको कारोबार रकम औसत दैनिक कारोबार रकमको २७ प्रतिशत मात्र हो ।

मङ्गलबार करिब ५ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार ४ अङ्कभन्दा धेरैले बढेको हो । तर, कारोबार रकम भने मङ्गलबारको तुलनामा ५ करोड रुपैयाँले घटेको हो । नेप्से सूचक बढे पनि कारोबार रकम भने उच्च दरमा घटेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज थप बढाउने निर्णय गरेपछि कार्यान्वयन नगर्ने अवस्था देखिएपछि सेयर बजार केही सुधारको गतिमा देखिएको हो ।

बुधबार कारोबार सुरु भएदेखि घट्दो क्रममा देखिएको नेप्से अन्तिम समयमा बढेको हो । कारोबार सुरु हुँदा १२८१.९० अङ्कमा रहेको नेप्से ४.०६ अङ्कले बढेर १२८५.९६ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अङ्कले बढेको छ ।

नेप्सेमा कारोबार भएका अधिकांश बैङ्क वित्तीय संस्थाको सेयरमूल्यमा सुधार आएपछि समग्र बजार सूचक बढेको हो । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ३.७३, विकास बैङ्क ४.२८, जलविद्युत् ९.३, अन्य समूह १.९५, लघुवित्त ८.५७ र बिमा २९.२१ अङ्कले बढेका छन् । तर, होटल २६, वित्त ०.८८ र उत्पादनमूलक समूह भने ६.८२ अङ्कले घटेका छन् ।

बुधबार नेप्सेमा १५६ कम्पनीको २ हजार ४ सय ६ कारोबारबाट १८ करोड ४५ लाख रुपैयाँबराबरको ६ लाख २३ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ ।