आर्थिक विकासका लागि प्रो इन्डिया र प्रो चाइनाको माइन्डसेट चेन्ज गर्न चाहन्छौं : माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको अन्तर्वार्ता

हामीले अहिले विगतको सङ्क्रणकलीन राजनीतिक अवस्था पार गरेर आर्थिक मुद्दामा सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका छौँ । छिमेकी देशसँग हाम्रो सम्बन्ध सुमधुर नै हुन्छ । किनभने, ती मुलुकसँग हाम्रो व्यापारलगायत सांस्कृतिक सम्बन्ध पनि उत्तिकै सुमधुर छ । कुशल समझदारी तथा विश्वासको अभावमा हामी कुनै पनि मुलुकसँग आर्थिक विकासको वातावरण बनाउन सक्दैनौं । यो हाम्रो विगतको इतिहासले पनि यही देखाएको छ ।

काठमाडौंमा जारी सार्क बिजनेस लिडरसिप कन्क्लेभमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्क मुलुकबाट आएका पत्रकारसँग सार्क सम्मेलन, नेपालमा लगानीको अवस्था आदिबारे खुलेर कुरा गरे । पत्रकारको सवालमा दाहालको जवाफ :

सार्क मुलुक एकअर्का देशमा लगानी गर्न सक्षम छन् । तर पनि नेपालले यी सार्क मुलुकको लगानी भित्र्याउन सकेको छैन । ती देशलाई लगानीका लागि वातावरण बनाउन तपाईंका तर्फबाट कस्तो पहल रहन्छ ?

नेपालमा सार्क मुलुकबाट एकदमै कम मात्रामा लगानी भित्रिएको छ । उनीहरु असक्षम भएर नेपालमा लगानी नआएको होइन । आज पनि भारतले विश्वका धेरै मुलुकमा लगानी गरेको छ । त्यसबाहेक पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का पनि एफडीआई बाहिर लैजाने मुलुकमा पर्छन् । तर ती देशले नेपालमा लगानी ल्याएका छैनन् । तर अब ती देशलाई नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भनेर विश्वास दिलाउने यो सरकारले काम गर्छ ।

नेपालले सार्कबाट कत्तिको फाइदा लिन सक्छ ?

मेरो विचारमा नेपालले सार्कबाट धेरै किसिमले फाइदा लिन सक्छ । अहिले देश राजनीतिक स्थितिको असाध्यै महत्त्वपूर्ण अध्याय सकेर आर्थिक विकासमा केन्द्रित भएको छ । र, हामी राजनीतिक सङ्क्रमण टुङ्ग्याएर विकासको यात्रामा अगाडि बढ्दै छौं । यही समयमा सार्क बिजनेस लिडरसिप कन्क्लेभ कार्यक्रम आयोजना भएको छ । यसले निजीक्षेत्र र सरकारी क्षेत्रमा राम्रो विश्वासको वातावरण बनाउने र लगानीमैत्री वातावरण बनाउन सघाएको छ । साथै बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी ल्याउन सकिन्छ भन्नेमा मेरो विश्वास छ ।

सार्क देशबीच सहयोग आदानप्रदानको कुरा हुँदै आएको छ । सार्क देशबीच कनेक्टिभिटीको कुरा पनि छ । भिसाको समस्या पनि आइरहेको छ । यो समस्या समाधानका लागि तपाईंको प्रयास कस्तो रहन्छ ?

मेरो विचारमा, भारत र पाकिस्तानबीच जुन राजनीतिक समस्या छन्, तिनलाई पाकिस्तान र भारतले नै मिलेर समाधान गर्नुपर्छ । र, एउटा जनसङ्ख्या र भूगोलका आधारमा विशाल देश भएको हुनाले भारतले नै यसमा बढी पहल गर्नुपर्छ भन्ने मेरो धारणा हो । अहिले हामी सार्कको अध्यक्षका हैसियतले भारत र पाकिस्तानबीच सौहार्दपूर्ण वातावरणमा छलफल र कुराकानीको वातावरण बनोस् र नेपालका तर्फबाट जे सम्भव हुन सक्छ, त्यो हामी गर्छौं । यो हाम्रो प्रतिबद्धता पनि हो । गत हप्ता पाकिस्तानका प्रधानमन्त्री नेपाल आउनुभएको थियो, त्यति बेला पनि हामीले विश्वासको राम्रो वातावरण बनोस्, वार्ताको राम्रो परिवेश बनोस् भन्ने आग्रह गरेका थियौं । र, त्यस्तो वातावरण बनाउन हामीले सहयोग गर्नेछौं । तर, अन्ततोगत्वा यस विषयमा भारत र पाकिस्तानले नै यो समस्याको समाधान खोज्नुपर्छ । यहाँ कनेक्टिभिटीको र सार्क राष्ट्रभित्रको यातायातको र भिसाको कुरा पनि चलेको छ । त्यसका लागि नेपाल सरकारले गम्भीर पहल गर्नेछ ।

तपाईंहरु सरकारमा हुनुहुन्छ, कन्क्लेभबाट नेपालले सबै छिमेकीसँग कसरी फाइदा लिन सक्ला ? साथै चीनसँगको निकटतालाई तपाईंले कसरी लिनुभएको छ ?

हामीले अहिले विगतको सङ्क्रणकलीन राजनीतिक अवस्था पार गरेर आर्थिक मुद्दामा सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका छौँ । छिमेकी देशसँग हाम्रो सम्बन्ध सुमधुर नै हुन्छ । किनभने, ती मुलुकसँग हाम्रो व्यापारलगायत सांस्कृतिक सम्बन्ध पनि उत्तिकै सुमधुर छ । कुशल समझदारी तथा विश्वासको अभावमा हामी कुनै पनि मुलुकसँग आर्थिक विकासको वातावरण बनाउन सक्दैनौं । यो हाम्रो विगतको इतिहासले पनि यही देखाएको छ । चीन पनि हाम्रो निकटतम छिमेकी हो । तर भारतसँग हाम्रो सम्पूर्ण इतिहास, संस्कृति, भूगोल सबै कुरा मिल्छन् । त्यस्तै वातावरण र सम्बन्ध चीनसँग पनि छ । नेपालको राजनीतिमा प्रो इन्डिया अथवा प्रो चाइनाको कुरा पनि उठिरहने गरेको छ । तर, यसले राजनीतिक स्थिरता ल्याउन साह्रै अप्ठ्यारो वातावरण सिर्जना गर्न सक्छ । यसले आर्थिक विकासमा समेत बाधा गर्छ । त्यसैले हामी प्रो इन्डिया र प्रो चाइनाको माइन्डसेट परिवर्तन गर्न चाहन्छौं । वास्तवमा हामी प्रो नेपाली हौं । हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध चाहन्छौं ।

यसअघि पाकिस्तानमा हुने भनिएको सार्क सम्मेलन अन्तिम समयमा आएर स्थगन भयो । नेपाल सार्कको अध्यक्ष भएका नाताले सम्मेलन गराउनमा यसको भूमिका कस्तो हुन सक्छ ?

मैले पहिले नै भनिसकें हामी सार्क सम्मेलन गराउन सकारात्मक भूमिका निर्वाह गर्न इच्छुक छौँ । भारतले विगतमा केही असन्तुष्टि एवम् असमझदारी हुँदाहुँदै पनि सार्क सम्मेलन गर्न सकारात्मक भूमिका निर्वाह गरेको इतिहास छ । मलाई आशा छ, अब पाकिस्तानमा हुने सार्क सम्मेलनमा पनि भारतको भूमिका सकारात्मक हुनेछ । यसमा पाकिस्तानको भूमिका पनि साकारात्मक नै हुनेछ ।