आइतबार नेप्से परिसूचक ९ अङ्कभन्दा धेरैले घटेको छ भने कारोबार रकम ३० करोडमा सीमित भएको छ ।
सेयर बजार परिसूचक बढ्ने क्रम यो साताको पहिलो दिन आइतबार रोकिएको छ । गत साताको अन्तिम दिनमा निरन्तर सुधारको गतिमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको सुरआतसँगै नकारात्मक भएको हो ।
आइतबार नेप्से परिसूचक ९ अङ्कभन्दा धेरैले घटेको छ भने कारोबार रकम ३० करोडमा सीमित भएको छ । कारोबार रकममा आएको गिरावटले सेयर लगानीकर्ता अझै पर्ख र हेरको अवस्थाका रहेको बुझिन्छ । सेयर बजारमा नकारात्मक असर नहोस् भनेर अर्थमन्त्री डा युवराज खतिवडाले आफू सेयर बजारको सुधारको पक्षमा रहेको बताएपनि लगानीकर्ताको मनोबल बढ्न नसकेपछि आइतबार बजार सूचक घटेको हो । नेप्सेको आइतबारको कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा आधाले थोरै हो ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा औसत दैनिक कारोबार रकम ६६ करोड रुपैयाँको छ । आइतबार कारोबार सुरु हुँदा सामान्य बढेको नेप्से सूचक केही समयपछि घट्न थालेको थियो । सो घट्दो क्रम कारोबारको अन्तिम समयसम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२८८.३६ अङ्कमा रहेको नेप्से ९.४० अङ्कले घटेर १२७८.९६ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले घटेको छ । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक घटेको हो ।
नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्किङ ६.५५, विकास बैङ्क ११.९२, जलविद्युत् ३३.१३, अन्य समूह १.३२, लघुवित्त १०.९२, बिमा ५२.४, होटल ७०.७६, वित्त समूह २.११ र उत्पादनमूलक समूह भने २६.१५ अङ्कले घटेका छन् ।
आइतबार नेप्सेमा १५२ कम्पनीको ३ हजार ८ सय ५ कारोबारवाट ३० करोड ४ लाख रुपैयाँ बरावरको ८ लाख ३३ हजार ९ सय ८६ कित्ता सेयर खरिद बिक्री भएको छ ।