शोधनान्तर घाटा ह्वात्तै बढेर १८ अर्ब नाघ्यो

अघिल्लो महिना ६ अर्ब ६६ करोड मात्रै घाटा रहेको शोधानान्तर माघमा भने झन्डै १२ अर्बले बढेको हो ।

माघ महिनामा मात्र शोधनान्तर (देशबाट बाहिरिने र मुलुक भित्रिने रकमको अन्तर) घाटा ह्वात्तै बढेको छ । चालू खाता उच्च घाटामा गएपछि त्यसको असर शोधनान्तर (भुक्तानी सन्तुलन)मा देखिएको छ भने विदेशी विनिमय सञ्चितिमा ठूलो धक्का लागेको छ ।

माघसम्म समग्र शोधनान्तर स्थिति १८ अर्ब २८ करोड रुपैयाँले घाटामा गएको छ । अघिल्लो महिना ६ अर्ब ६६ करोड मात्रै घाटा रहेको शोधानान्तर माघमा भने झन्डै १२ अर्बले बढेको हो । अघिल्लो वर्षको सात महिनामा शोधानान्तर स्थिति ३६ अर्ब ९५ करोड रुपैयाँले बचतमा थियो । राष्ट्र बैङ्कले सार्वजनिक गरेको ७ महिनाको देशको वर्तमान आर्थिक स्थितिमा माघसम्म चालू खाता घाटा १ खर्ब ४१ अर्ब ६ करोड पुगेको छ । आयात तथा विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको केन्द्रीय बैङ्कको भनाइ छ । गत वर्षको माघसम्म यस्तो घाटा १० अर्ब ६६ करोड रुपैयाँ थियो ।

समग्रमा शोधनान्तर घाटा बढ्दा विदेशी विनिमय सञ्चितिमा धक्का लागेको छ । २०७४ असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति माघमा आइपुग्दा २.८ प्रतिशत (३० अर्ब २३ करोड)ले घटेर १० खर्ब ४९ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।
माघमा देखिएको विप्रेषण आप्रवाह वृद्धिले पनि शोधनान्तर घाटा कम गर्न सकेन । गत वर्षको सोही अवधिको तुलनामा गत महिनासम्म ०.५ प्रतिशतले ऋणात्मक रहेको विप्रेषण आप्रवाह माघमा भने १.७ प्रतिशतले धनात्मक भएपनि शोधनान्तर घाटा कम गर्न पर्याप्त भएन । यस अवधिमा ४ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ विप्रेषण मुलुक भित्रिएको छ ।

अघिल्लो वर्ष ८.३ प्रतिशतको वृद्धि देखिएको खुद ट्रान्सफर आय यो पटक भने ३ प्रतिशतले ऋणात्मक भई ४ खर्ब ६० अर्ब ८५ करोडमा सीमित भएको छ, जसले शोधनान्तर घाटा बढाउन सहयोग मिलेको छ । यसअवधिमा पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानी गत वर्षको तुलनामा वृद्धि देखिएपनि शोधनान्तर घाटा हटाउने तहमा उल्लेख्य भूमिका निर्वाह गरेन । गत वर्ष माघसम्म ९ अर्ब २५ करोड पुँजीगत ट्रान्सफर देखिएकोमा यसपटक १० अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६० करोड रहेकोमा करिब दोब्बर बढी अर्थात् १४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैङ्कका अनुसार यस अवधिमा ६ खर्ब ६१ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ४७ अर्ब ६२ करोड रुपैयाँको निर्यात भएको छ । जसले गर्दा व्यापार घाटा ६ खर्ब १३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १९.४ प्रतिशतले बढी हो । त्यसैगरी माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशत पुगेको छ । खाद्य मुद्रास्फीति ४ प्रतिशत र गैरखाद्य मुद्रास्फीति ५.८ प्रतिशत छ ।