नेप्से सूचक १२७० मा झर्यो

आइतबार ९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पनि सोही गतिमा घटेपछि नेप्सेले न्यून बिन्दु बनाएको हो ।

सेयर बजार परिसूचक घट्दो क्रममा गएपछि सोमबार १२७० बिन्दुमा झरेको छ । आइतबार ९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पनि सोही गतिमा घटेपछि नेप्सेले न्यून बिन्दु बनाएको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकमपनि घट्ने क्रम जारी छ । आइतबार ३० करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा सोमबार २६ करोड रुपैयाँमा सीमित भएको छ । पछिल्ला दिनहरुमा नेप्सेमा औसत दैनिक कारोबार रकम ६६ करोडको आधार पनि मुस्किलले छुन थालेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आउँदा सेयर लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । पछिल्लो समयमा देखिएको वित्तीय क्षेत्रको समस्या समाधान उन्मुख नदेखिएपछि सेयर लगानीकर्ता झन् त्रासमा परेका हुन् । यसले सेयर लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।

सोमबार कारोबार सुरु हुँदा सामान्य बढेको नेप्से सूचक केही समयपछि घट्न थालेको थियो । सो घट्दो क्रम कारोबारको अन्तिम समयसम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२७८.९६ अङ्कमा रहेको नेप्से ८.४४ अङ्कले घटेर १२७०.५२ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले घटेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका अधिकांश बैङ्क वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक घटेको हो । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ८.८५, विकास बैङ्क ८.७९, जलविद्युत् २२.१८, लघुवित्त १०.३५, बिमा ५०.३२, होटल ३२.२८ र वित्त समूह २.०४ अङ्कले घटेका छन् । तर, सोमबार नेप्सेमा अन्य १.८ र उत्पादनमूलक समूह भने ३.५१ अङ्कले बढेका छन् ।

नेप्सेमा १५२ कम्पनीको ३ हजार ५ सय ४२ कारोबारबाट २६ करोड ६२ लाख रुपैयाँ बराबरको ७ लाख ७१ हजार ९ सय ९४ कित्ता सेयर खरिद बिक्री भएको छ ।