नेप्से परिसूचक १५ अङ्कले घट्यो

सोमबार ८ अङ्कभन्दा धेरैले घटेको नेप्से सूचक मङ्गलबार त्योभन्दा धेरैले घटेको हो । बैङ्क तथा वित्तीय चुक्ता पुँजी वृद्धिको कारणले सेयर बजारमा धितोपत्रको आपूर्ति अधिक भएपछि बजार निरन्तर घट्न थालेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले एकपछि अर्को न्यून बिन्दु बनाउने क्रमले मङ्गलबार पनि निरन्तरता पाएको छ । मङ्गलबार नेप्से परिसूचक १५ अङ्कभन्दा धेरैले घटेर १२५५ अङ्कमा झरेको छ ।

सोमबार ८ अङ्कभन्दा धेरैले घटेको नेप्से सूचक मङ्गलबार त्योभन्दा धेरैले घटेको हो । बैङ्क तथा वित्तीय चुक्ता पुँजी वृद्धिको कारणले सेयर बजारमा धितोपत्रको आपूर्ति अधिक भएपछि बजार निरन्तर घट्न थालेको हो । त्यससँगै वित्तीय क्षेत्रमा देखिएको कर्जा योग्य रकमको अभावका कारण ब्याजदर बढ्न जाँदा सेयर बजार परिसूचकमा नकारात्मक असर परेको हो ।

नेप्से परिसूचक घटेको भएपनि कारोबार रकममा सोमबारको तुलनामा केही सुधार आएको छ । सोमबार २६ करोडमा सीमित भएको सेयर कारोबार मङ्गलबार ६ करोडले बढेर ३२ करोड रुपैयाँ पुगेको छ ।

नेप्से घटेको समयमा कारोबार रकममा सुधार आउनु भनेको लगानीकर्ता सेयर बिक्री गर्ने मुडमा रहेको देखिन्छ । त्यसका साथै घट्दो बजारमा खरिद गर्ने लगानीकर्ता पनि रहेको देखिन्छ । कारोबार रकममा समान्य सुधार आएको हुनाले सेयर लगानीकर्ताको मनोबल अझै पनि कमजोर देखिन्छ ।

मङ्गलबार कारोबार सुरु हुदाँदेखि घट्न थालेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२७०.५२ अङ्कमा रहेको नेप्से १५.०५ अङ्कले घटेर १२५५.४७ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले घटेको छ ।

नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । त्यसका साथै कारोबार भएका सम्पूर्ण समूहगत सूचक पनि घटेका छन् । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ९.७९, विकास बैङ्क १५.२३, जलविद्युत् २०.४५, लघुवित्त २०.३, बिमा १५२.१८, वित्त समूह .९७, अन्य ७.० र उत्पादनमूलक समूह भने ४३.५७ अङ्कले घटेका छन् । तर, होटल समूह मात्र १७.७९ अङ्कले बढेको छ ।

नेप्सेमा १५९ कम्पनीको ४ हजार ९ सय ४१ कारोबारवाट ३२ करोड ८९ लाख रुपैयाँ बराबरको ९ लाख ६२ हजार ९ सय ५२ कित्ता सेयर खरिद बिक्री भएको छ । मङ्गलबार नेप्सेको कुल कजार पुँजीकरण समेत घटेर १४ खर्ब ७० अर्बमा झरेको छ ।