सेयरको अधिक माग तर, मूल्य घटाएर

केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको भनेर लगानीकर्ता सरकारमाथी खनिए पनि अहिले एकाएक बजार ओरालो झर्दा को दोषी भन्ने प्रश्न खडा भएको छ । सेयर लगानीकर्ताले बजार घटिरहेकाले लगानीकर्ताको मनोबल उच्च बनाउन सरकारले केही न केही कार्यक्रम ल्याउनुपर्ने बताइरहेका छन् । तर, सरकारले सेयर बजार बढाउन भने कुनै कार्यक्रम ल्याउने सम्भावना छैन र सामान्यता ल्याउँदैन पनि ।

निरन्तर सेयर बजार ओरालो लागिरहँदा लगानीकर्ता सेयर किन्न व्यग्र प्रतीक्षामा बसेका छन् । तर, घटेकै मूल्यमा थप मूल्य कम गरेर मात्र लगानीकर्ता सेयरमा थप लगानी गर्न इच्छुक देखिएका छन् । क्यापिटल हेरेको १० ओटा कम्पनी मार्केट डेप्थमा ९ ओटा कम्पनीमा सेयर बिक्री गर्नेभन्दा खरिद गर्ने अधिक छन् । चिलिमे जलविद्युत् आयोजना, स्वावलम्बन विकास बैङ्क, छिमेक लघुवित्त विकास बैङ्क, एभरेस्ट बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क, कृषि विकास बैङ्क, नेसनल लाइफ इन्स्ेयारेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बङ्गलादेश बैङ्क र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको सेयर माग र बिक्रीको चाप हेर्दा स्ट्यान्डर्ड चार्टर्डमा मात्रै मागभन्दा केही बढी सेयर विक्री गर्न लगानीकर्ता तयार देखिएका छन् ।

दुई सातादेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अझ तीव्र गतिमा झरेको छ । कारोबारको प्रवृत्ति हेर्दा बजार अझ घट्ने बाटोमा सक्रिय देखिन्छ र बजारले न्यूनतम बिन्दुतर्फ उन्मुख भएको छ । बिहीबार मध्याह्नसम्मको सेयर कारोबारको ‘प्याटर्न’ हेर्दा आगामी साताभर नेप्से १२०० अङ्ककै वरिपरि घुम्ने देखिन्छ । त्यसपछि बजारमा सेयर बिक्रीका लागी थप दबाब पर्ने र बजार घट्ने बाटोमा जाने सम्भावना प्रबल छ । यद्यपि लगानीकर्तामा मानसिक तनाव सिर्जना गर्ने गरी बजार घट्नुपर्ने कुनै कारण छैन । यद्यपि बिहीबार नाटकीय ढङ्गले बजारमा २ बजेभित्रै सुधार देखिएको छ । न्यूनतम बिन्दु १२०७.६२ बाट बढेर १२३७.१९ अङ्कमा चढेर कारोबार भइरहेको छ ।

बजारमा प्रभाव पार्ने पाँच कारण

१. चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत) भएकाले सेयर धितोमा कर्जा लिएकालाई ऋण किस्ता तिर्न ताकेता आउँछ । त्यति मात्रै होइन बजार घटिरहेकाले बैङ्कहरुबाट ‘मार्जिक कल’ लगानीकर्तामा आइरहेको छ ।

२. सूचीकृत अधिकांश कम्पनीले गत वर्षको नाफाबाट दिनुपर्ने लाभांश सबै दिइसकेका छन् । एकाध कम्पनीका बाँकी भए पनि त्यो सामान्य मात्रै छ । चालू वर्षको नाफाबाट सूचीकृत कम्पनी लगानीकर्तालाई लाभांश दिने भनेको आगामी असोजमा मात्रै सम्भव हुन्छ । त्यसैले अहिले सेयर किनेर बिनाप्रतिफल लगानीकर्ता ६ महिना सेयर पाल्नुपर्ने भएकाले त्यसतर्फ धेरै लगानीकर्ताको ध्यान जाँदैन ।

३. स्थिर सरकार बनेपछि बजार घटिरहेको भनेर धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् । तर, स्थिर सरकार भर्खरै बनेको हो र उसका नीति तथा कार्यक्रम आउन पनि अझै डेढ महिना बाँकी छ । कस्तो नीति लिने र अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने कार्यादेश अझै तय भइसकेको छैन । सरकारले काम अघि बढाए पनि त्यसको प्रतिफलका लागि केही समय कुर्नैपर्ने हुन्छ । त्यसैले अहिले नै लगानीकर्ताले स्थिर सरकार बन्यो भनेर खुसी हुनुपर्ने कुनै कारण छैन ।

४. खासगरी अहिले मुलुकभित्र आउने रकम र मुलुकबाट बाहिरिने रकमको अन्तर (भुक्तानी सन्तुलन) ऋणात्मक छ । यसले ब्याजदरमा दबाब बढेको छ । जसका कारण बैङ्कहरुले निक्षेपको व्याजदर भद्रसहमति गरेर ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भने वैकल्पिक मार्ग प्रयोग गरेको र साढे १२ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । यसले कर्जाको ब्याज उच्च बनाएको छ र त्यसको असर पनि सेयर बजारमा परेको छ । परिस्थिति यस्तै रहे यसको असर आगामी दिनमा अझ बढी पर्ने देखिन्छ । त्यस्तै सरकारले गर्ने खर्चको मात्रा घट्दा पनि त्यसको असर लगानीयोग्य रकम (तरलता) अभाव सिर्जना गर्न मनग्य कारण बन्ने गरेको छ ।

५. नेपालको सेयर बजार अझै पनि बैङ्क तथा वित्तीय संस्था (बिमासमेत) केन्द्रित छ । अर्थात् अधिक हिस्सा वित्तीय संस्थाको सेयरले ओगटेको छ । खासगरी वित्तीय संस्था तथा बिमा कम्पनीहरुको पुँजी वृद्धि अभियानका बेला बोनस सेयर र हकप्रद सेयर दिने गर्छन् । यस्तो अवस्थामा बजारले उच्च बिन्दु लिने गरेको छ । नेपालको सन्दर्भमा अधिकांश वित्तीय संस्थाहरुको तोकिएको चुक्ता पुँजी पुगिसकेको छ भने बिमा कम्पनीको पनि पुग्ने क्रममा छ । त्यसले वित्तीय संस्थाहरुले आगामी वर्षदेखि दिने लाभांश भनेको नगद हो । नगदतर्फ नेपाली लगानीकर्ताको खासै रुचि छैन, त्यसले पनि बजार प्रभावित हुने गरेको छ ।

केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको भनेर लगानीकर्ता सरकारमाथी खनिए पनि अहिले एकाएक बजार ओरालो झर्दा को दोषी भन्ने प्रश्न खडा भएको छ । सेयर लगानीकर्ताले बजार घटिरहेकाले लगानीकर्ताको मनोबल उच्च बनाउन सरकारले केही न केही कार्यक्रम ल्याउनुपर्ने बताइरहेका छन् । तर, सरकारले सेयर बजार बढाउन भने कुनै कार्यक्रम ल्याउने सम्भावना छैन र सामान्यता ल्याउँदैन पनि । किनभने सेयर बढाउने वा घटाउने लगानीकर्ताकै हातमा भएकाले सरकारले बजार बढाउने भनेर अमुक कार्यक्रम ल्याउँदैन । त्यसैले अझै केही समय सेयर बजारमा नकारात्मक असर रहिरहन्छ । नेप्से परिसूचकले न्यूनतम बिन्दु खोजी गर्ने क्रममा विस्तारै ३ अङ्क (थ्री डिजिट)तर्फ उन्मुख छ ।