सुविधा दिन सके पर्यटक खोजीखोजी नेपाल आउँछन्

नेपाल भूपरिवेष्टित मुलुक भएकाले हामीसँग सामुद्रिक मार्ग छैन, ट्रेन पनि छैन । यसकारण अन्तर्राष्ट्रिय गन्तव्यमा जहाजहरुको पहुँच बढाउन कम्तीमा पनि नेपाल एयरलाइन्ससँग १० ओटा एयरबस हुनुपर्छ । पर्यटकको रोजाइमा नेपाल पर्न कुनै गाह्रो छैन । हिमाल, तालतलैया, मनोरम प्रकृति तथा स्वच्छ र विविध हावापानी भएको बुद्ध जन्मेको देश नेपालमा सबै मान्छे एकपटक आउन चाहन्छन् । राम्रो सुविधा दिन सकियो भने अन्तर्राष्ट्रिय पर्यटकहरु दोहोर्याएर नेपाल आउनेछन् ।

तपाईं नाट्टाको अध्यक्षका नाताले पर्यटन व्यवसायीका साथै यस क्षेत्रका समस्या समाधान गर्न के योजना बनाउनुभएको छ ?

म लामो समयदेखि यस व्यवसायमा केन्द्रित रहेर काम गरिरहेको छु र नाट्टाको नेतृत्वमा विगत लामो समयदेखि प्रत्यक्ष रुपमा सहभागी पनि भइरहेको छु । नेपाल सरकारसँग होस् वा स्थानीय निकायसँग, म पर्यटन क्षेत्रका सबै समस्या उजागर गर्ने, समाधान गर्ने कुरामा लागिरहेको छु । र, यो चुनावमा म अध्यक्षको प्रत्यासी बन्दा पनि आम व्यवसायीमाझ आफ्नो घोषणापत्रमार्फत नेपालको पर्यटन बजारमा देखिएका समस्याहरु दुई चरणमा बाँडेर प्रस्तुत गरेको थिएँ । यस क्षेत्रमा विगतदेखि नै विभिन्न समस्या छन्, ती समस्याहरु सरकारसँग समन्वय गरेर समाधान गर्ने लक्ष्य लिएको छु । दोस्रो कुरा, हामीलाई अन्तर्राष्ट्रियस्तरको व्यवसायीका रुपमा राज्यले व्यवहार गर्नुपर्छ भन्ने आधारमा अघि बढेको छु ।

्देरशमा नयाँ सरकार आएको छ । अब ‘फुलफेज’मा सरकारले काम गर्न थालेपछि नीतिगत समस्या समाधान भई अन्य समस्याको गाँठो पनि फुक्ने आशा छ । राज्य सङ्घीय संरचनामा गइसकेको हुँदा पर्यटन व्यवसायलाई पनि कसरी सङ्घीय व्यवस्थाअनुसार रुपान्तरित गर्ने भन्ने सवाल पनि छ । यो व्यवसायलाई कसरी ‘इम्पावर’ गरेर उत्कृष्ट बनाउने र अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने भन्नेमा हामी लागिपरेका छौँ । नाट्टाको निर्वाचन भएको एक महिना नाघिसक्यो । अर्को महिनादेखि हामी माथि भनिएका कुराहरुलाई कार्यान्वयन गर्ने दिशामा अग्रसर हुनेछौँ ।

सन् २०३० मा ५० लाख पर्यटक भिœयाउने उद्देश्य पाटाका साथै पर्यटन व्यवसायीहरुको छ, तपाईंहरुले पनि यही मुद्दा अघि सार्नुभएको छ । यस्तो महत्वाकांक्षी योजना कसरी पूरा होला ?

यो असम्भव कुरा होइन । सन् २०३० मा नेपालजस्तो मुलुकमा ५० लाख पर्यटक भिœयाउन गाह्रो छैन । हामीसँग लक्ष्य पूरा गर्न पर्याप्त समय पनि छ । पाटाले पनि त्यही कुरालाई अगाडि बढाइरहेको छ । मुख्य कुरा के हो भने, चुनावअगाडि आएको वाम गठबन्धनको घोषणापत्रमै पनि सन् २०२८ अर्थात् अबको १० वषभित्र ५० लाख पर्यटक ल्याउने उल्लेख छ । त्यसकारण पनि अब यो अजेन्डा हाम्रो मात्र रहेन, यो नेपाल सरकारको अजेन्डा हो । यो घोषणा गर्ने पार्टीको सरकार बनिसकेको छ । अब नेपाललाई समृद्ध पार्ने पर्यटन क्षेत्रबाहेक अर्को केही छैन भन्ने कुरा बुझ्नु जरुरी छ । अब उक्त सङ्ख्यामा पर्यटक ल्याउन के गर्नुपर्छ, अहिलेको हाम्रो आवश्यकता के रहेछ र समस्या समाधान गर्न के गर्नुपर्ने रहेछ भन्ने कुराको निक्र्योल हामीले गरिसकेका छौं । सरकार निर्माण भएपछि यी कुरा हामी सरकारलाई हस्तान्तरण गर्छौं । यसो गरिसकेपछि हामी युद्धस्तरमा अगाडि बढ्छौं । नेपाल भूपरिवेष्टित मुलुक भएकाले हामीसँग सामुद्रिक मार्ग छैन, ट्रेन पनि छैन । यसकारण अन्तर्राष्ट्रिय गन्तव्यमा जहाजहरुको पहुँच बढाउन कम्तीमा पनि नेपाल एयरलाइन्ससँग १० ओटा एयरबस हुनुपर्छ । ती एयरबस र नेपालसँग भएका भौतिक संरचनाहरु सातै प्रदेशमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रहरु होऊन् । त्यहाँ बाटो, यातायातजस्ता पूर्वाधारमा सरकारले लगानी ग¥यो भने पाँच मिलियन पर्यटक ल्याउन हामी जिम्मा लिएर सरकारसँग सहकार्य गर्न सक्छौं ।

नेपालमा पूर्वाधार निर्माणको काम त सुस्त छ नि ?

भौतिक पूर्वाधारको काम र नेपाल एयरलाइन्सले जहाज थप्ने काम सँगसँगै थाल्नुपर्छ । नेपाल एयरलाइन्सले यो वर्ष दुइटा जहाज थप्यो भने पनि केही पर्यटक बढिहाल्छन् । काठमाडौँ–पोखरा आवतजावत गर्न जामका कारण अहिले १० घण्टा लाग्छ । यस्तो अवस्थामा पर्यटक कसरी आउलान् ? जहाज हुने हो भने एकातिर जाम कम हुन्छ भने पर्यटकले सुविधा पनि पाउँछन् । मुग्लिङ–नारायणगढ बाटोको समस्याले पर्यटकहरु बस्ने दिन घटेको छ । त्यो बाटोलाई निर्धारित समयमा सम्पन्न गर्नुप¥यो । यी पूर्वाधारहरु जस्तै काठमाडौंमा मात्रै कम्तीमा पाँच हजार व्यक्ति एकै ठाउँमा बसेर सभासम्मेलन गर्न सक्ने एउटा अन्तर्राष्ट्रियस्तरको भवन बन्यो भने हामी अर्को वर्ष नै १० लाख पर्यटक ल्याउन सक्छौं । यस्ता कुराहरु पब्लिकमा पनि जानुपर्छ । कम्तीमा पनि सातैओटा प्रदेशमा सके दुइटा नसके एउटा तीन हजार व्यक्ति अट्ने सुविधासम्पन्न सम्मेलन केन्द्र निर्माण गर्नुपर्छ । जुन प्रदेशमा यस्ता काम हुन्छ त्यही प्रदेशमा बढी पर्यटक जान्छन् । अब हामी प्रदेश–प्रदेशबीच पनि यी कुरा लिएर जानेछौं ।

व्यवसायी र सरकार पर्यटन क्षेत्रका सम्भावनाको बखान गरेर थाक्दैनन् । तर, अन्तर्राष्ट्रिय जगत्मा नेपालको ख्यातिबारे आवश्यक प्रचारप्रसार हुन सकेको छैन । किन योजना बन्न नसेकेका हुन् ?

अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन बढिरहेको छ । यो क्षेत्रमा सिजनल मार्केट चल्छ । अब हामी अन्तर्राष्ट्रिय बजारमा ‘अफ सिजन’को मार्केटिङ गर्ने योजनामा छौँ । यति गर्न सक्दा पर्यटक आगमन वृद्धि हुन्छ । हाम्रो अफसिजनमा जुन देशमा छुट्टी हुन्छ, ती देशहरुमा मार्टहरु सञ्चालन गर्नुपर्छ । मार्च–अप्रिल र अक्टोबर–नोभेम्बरमा पर्यटक बढी आउँछन्, बाँकी आठ महिना ‘लो अकसपेन्सी’ हुन्छ । यस्तो समयमा हामीले अफसिजन मार्केटिङलाई बढावा दिनुपर्छ । अब त्यसको बजारीकरणमा हामी लाग्नेछौँ ।

हाम्रो सौभाग्य के हो भने, दुई छिमेकी भारत र चीन अत्यन्त बढी जनसङ्ख्या भएका र घुम्ने आदत त्यहाँ बढिरहेको अवस्था छ । अन्य कतिपय विकसित मुलुकमा त यो कल्चर पहिलेदेखि नै स्थापित छ । दुई छिमेकी मुलुकबाट अन्य मुलुक जाने पर्यटकमध्ये एक प्रतिशत मात्र हामीले ल्याउन सक्यौं भने पनि पाँच मिलियनभन्दा बढी हुन्छ । त्यो काम हामी अगाडि बढाउँछौँ । सरकारसँग समन्वय गरेर चीनसँगका बाटाहरु खोल्ने र डाइरेक्ट कनेक्टिभिटी बढाउने कार्यमा लिडरसिपको रोल खेलेर अगाडि बढ्नेछौँ ।

टुर प्याकेज, टिकटको मूल्यमा व्यवसायीबीच तीव्र अस्वस्थ प्रतिस्पर्धाले बजार बिग्रेको व्यवसायीहरु नै बताउँछन् । यो धूमिल वातावरणलाई कसरी राम्रो बनाउँदै हुनुहुन्छ ?

यस विषयमा हामीले व्यवसायीसँग छलफल गरेका छौँ । कम्तीमा नेपालको टुरिजमलाई एउटा बेन्चमार्कमा लगौं । यसमा माग र आपूर्तिले पनि व्यवस्थापन गर्ने अवस्था आउँछ । अहिले हामीकहाँ पर्यटकको आगमन कम छ र सेवाहरु बढी छन् । बढी भयो र प्रतिस्पर्धामा हामीले सस्तोमा दियौं भने धेरै पर्यटक आउँछन् नै । यस्तो अवस्थामा हामी व्यवसायीबीच पनि प्रतिस्पर्धा हुनुपर्छ । पहिलो कुरो त पर्यटक नै बढीभन्दा बढी भिœयाउनु हो । यो व्यवसायलाई बेन्चमार्कमा कन्भर्ट गरेर एउटा जिम्मेवार व्यवसायीका रुपमा अगाडि बढाउने कुरामा हामी काम बढ्छौं । व्यवसायीहरुलाई त्यसअनुसारको काउन्स्लिङ गर्छौं । यसको बेन्चमार्क तयार गरेपछि सरकारसँग त्यो बेन्चमार्क ट्याग इन्टिग्रेट ग¥यौं भने यी कुराहरु समाधान हुन्छन् । अस्वस्थ प्रतिस्पर्धा भइरहेको जुन कुरो छ, त्यसलाई हामी सरकारको समन्वयमा रोक्न चाहन्छौं । ट्याक्सका साथै जीडीपीमा पनि यस क्षेत्रको योगदान वृद्धि गर्न चाहन्छौँ ।

पछिल्लो पटक व्यवसायीहरु इनबाउन्डभन्दा आउटबाउन्डमा बढी फोकस भएर काम गरिरहेका छन् । के यसले नेपालको पर्यटनलाई राम्रो गर्ला ?
इनबाउन्डभन्दा आउटबाउन्डमा फोकस भएको होइन । अहिले हामीसँग धेरै व्यवसाय भएको हुनाले यसको विविध रुप देखिएको हो । त्यो विविधतामा हामी कसैले आउटबाउन्ड गर्छौं, कसैले इन्बाउन्ड अनि कसैले दुवै गर्छौं । अब धेरै व्यवसायी घरेलु पर्यटनमा जाने स्थिति छ । एउटामा प्रतिस्पर्धा हुँदा अर्कोमा जाने, अर्कोमा प्रतिस्पर्धा हुँदा अर्कैमा जानु अन्यथा होइन । यही नै यस क्षेत्रको विविधता हो । यो विविधताले पर्यटनलाई फाइदै दिन्छ । आज आउटबाउन्ड गर्ने कम्पनी आफ्ना एजेन्टमार्फत नेपालमा इनबाउन्ड पनि गर्छ । यी दुवै काम गर्ने कम्पनीले डोमेस्टिक टुरिरजम पनि गर्छन् । यी कुराहरु हामी सँगसँगै अगाडि बढाउन चाहन्छौं ।

अहिले स्थानीय तथा प्रदेश सरकार बनिसक्यो । यो अवस्थासँगै स्थानीय करका कुरा आइरहेका छन्, समस्या देखापरेका पनि छन् । पदमार्गदेखि लिएर हिमाल आरोहणका करका कुरा स्थानीय सरकारले गर्ने भन्ने कुरा आइरहेको छ । यसले कस्तो समस्या पार्ला ?

यस्ता समस्यालाई समन्वय गरेर समाधान गर्नुपर्छ । पर्यटकलाई हरेक प्रदेशमा अलगअलग कर लगाउनु उचित हुँदैन । एकद्वार कर लगाउनुपर्छ । त्यो कर एक ठाउँमा स्थानीय सरकारले उठाओस् वा केन्द्रीय सरकारले उठाएर वितरण गरे पनि हुन्छ । हरेक प्रदेशमा पर्यटक प्रवेश शुल्कका कुरा ल्याइएको छ, यो कानुनसम्मत छैन । यो गर्नुहुन्न र यो रोक्नुपर्छ भनेर भनेका छौँ । यसका लागि हामीले अहिलेको सरकार निर्माण हुनुपूर्व स्थानीयस्तरमा पनि उठाएका थियौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरवृद्धि भएको छैन र निर्माणाधीन दुइटा अन्तर्राष्ट्रिय विमानस्थलले पनि गति लिन सकिरहेको छैन । निजीक्षेत्रले यसमा सरकारलाई कस्तो खालको दबाब सिर्जना गर्न सक्छ ?

पोखरा र भैरहवामा निर्माणाधीन विमानस्थल निर्धारित समयावधिभित्र सम्पन्न हुने अवस्था छैन । यसलाई समयमै सक्न सरकारलाई भनिरहेका छौँ । यति हुन सक्दा त्यहाँ पर्यटक वृद्धिमा सहयोग पुग्छ । अर्को कुरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या समाधान गर्नका लागि कम्तीमा भैरहवा विमानस्थल बन्यो भने केही विमानहरुलाई उता ट्रान्सफर गर्ने र काठमाडौंलाई आधा समय चलाएर यसको स्तरवृद्धि गर्ने काम गर्न सकिन्छ । पछि यसको काम सम्पन्न भएपछि चौबीसै घन्टा चल्ने अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ । हामीसँग रहेको अर्को अन्तर्राष्ट्रिय विमानस्थल निजगढलाई यथाशक्य समयसीमाभित्रै सक्ने गरी निर्माण गर्नुपर्छ । हामीसँग चारओटा अन्तर्राष्ट्रिय विमानस्थल भयो भने पाँच होइन, हामी १० मिलियन पर्यटक भिœयाउन पनि गाह्रो हुँदैन । दक्षिणपूर्व एसियामै पर्यटकहरु आकर्षित भइरहेका छन् । युरोप, अमेरिका, अफ्रिकामा अहिले पर्यटकको घुम्ने चाहना नै कम छ । पर्यटकको रोजाइमा नेपाल पर्न कुनै गाह्रो छैन । हिमाल, तालतलैया, मनोरम प्रकृति तथा स्वच्छ र विविध हावापानी भएको बुद्ध जन्मेको देश नेपालमा सबै मान्छे एकपटक आउन चाहन्छन् । राम्रो सुविधा दिन सकियो भने अन्तर्राष्ट्रिय पर्यटकहरु दोहो¥याएर नेपाल आउनेछन् । यसका लागि हामीले विभिन्न हबहरुमा नेटवर्क बढाउनु जरुरी छ, मार्केटिङ गर्न पनि जरुरी छ । हाम्रा प्रडक्ट अन्तर्राष्ट्रिय मिडियाहरुमा लैजाने र अनलाइन मार्केटिङबाट अगाडि बढाएर नेपालको पर्यटन क्षेत्रलाई कायापलट गर्ने हाम्रो उद्देश्य छ ।