डेस्टिनेसन : घोडेपानी–पुनहिल

लालीगुँरासको जङ्गलको बीचमा रहेको पहाडको टाकुरामा अवस्थित घोडेपानीदेखि ४५ मिनेट उकालो चढेपछि पुनहिल पुगिन्छ । पुनहिलमा सूर्योदय र सेताम्मे हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटकको भीड लाग्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट सिजनअनुसार फरकफरक दृश्यावलोकन गर्न सकिन्छ । लालीगुँरासको जङ्गलको बीचमा रहेको पहाडको टाकुरामा अवस्थित घोडेपानीदेखि ४५ मिनेट उकालो चढेपछि पुनहिल पुगिन्छ । पुनहिलमा सूर्योदय र सेताम्मे हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटकको भीड लाग्छ ।

धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, नीलगिरि, मनास्लुजस्ता १६ भन्दा बढी हिमाल यहाँबाट देख्न सकिन्छ । वरपरका पहाडी भूगोलको मनमोहक दृश्यले पनि जोकसैको मन लोभिन्छ । चैत, वैशाखमा फुल्ने विभिन्न प्रजातिका लालीगुराँसले पुनहिल यात्रालाई थप आकर्षक बनाउन सक्छन् । यहाँ १६ प्रजातिका लालीगुराँस पाइन्छन् । पुनहिल भ्रमणका लागि आउने पर्यटक एक रात घोडेपानीमा बिताउँछन् । यहाँका होटलको छुट्टै विशेषता छ, त्यो हो– कोठाबाटै हिमाल देख्न पाइनु ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत पर्ने घोडेपानीमा आमा समूहले मगर सङ्ग्रहालयसमेत सञ्चालन गरेका छन् । २५ ओटा सुविधासम्पन्न होटल सञ्चालनमा रहेको घोडेपानीमा दैनिक आठ सय पर्यटक बस्न आउने गरेका छन् । म्याग्दीको पोखरेबगर, राम्चे, कास्कीको नयाँपुल उल्लेरी र घान्द्रुक हुँदै घोडेपानी पुग्न सकिन्छ । पोखरादेखि एकै दिनमा घोडेपानी पुग्न सकिन्छ ।