कामदारबाट बढी उत्पादन चाहिन्छ ? पिज्जा ख्वाउनुस् !

तपाइँलाई यो थाहा भएर अचम्म लाग्ला कि यदि कुनै बोरिङ मिटिङमा हताश भएर बसेका कर्मचारीको मनोबल बढाउनु छ भने उसलाई फ्रीमा केही खानेकुरा अफर गर्नु सबैभन्दा उत्तम उपाय हो ।

के तपाइँलाई थाहा छ कि पिज्जाको एउटा स्लाइस र अलिकति प्रशंसा नगदभन्दा पनि ठूलो उपहार हुनसक्छ ? हजुर, बिल्कुल सही हो यो । एउटा रिसर्चलाई पत्याउने हो भने तेसै भन्छ । तपाइँलाई यो थाहा भएर अचम्म लाग्ला कि यदि कुनै बोरिङ मिटिङमा हताश भएर बसेका कर्मचारीको मनोबल बढाउनु छ भने उसलाई फ्रीमा केही खानेकुरा अफर गर्नु सबैभन्दा उत्तम उपाय हो । अझ रिसर्चको कुरा मान्ने हो भने यसले उत्पादकत्व पनि बढ्छ । मनोचिकित्सक डेन एरियलीले एउटा अध्ययनमा बताएका छन् कि पिज्जा अफर गर्नु कर्मचारीहरुका लागि इन्सेन्टिभ पाए झैं हुन्छ ।

यो अध्ययन एउटा सेमीकन्डक्टर फ्याक्ट्रीमा गरिएको थियो जसमा कम्पनीले साताको पहिलो दिन काम गर्नेहरुलाई तीनओटा म्यासेज पठाए,– यो पत्ता लगाउन कि कुनचाँहि म्यासेजले कामदारहरु बढी मोटिभेट हुन्छन् । पहिलो म्यासेजमा उनीहरुलाई करिब २ हजार रुपैयाँसम्म नगद बोनस अफर गरियो, दोस्रो म्यासेजमा कम्पनीका बोसले उनीहरुको प्रशंसा गर्न चाहन्छन् भनेर पठाइयो र तेस्रोमा उनीहरुलाई फ्री पिज्जा भौचर दिने आश्वासन दिइएको थियो ।

एक दिनपछि नै पिज्जावाला म्यासेज सबैभन्दा बढी मोटिभेट गर्ने खालको प्रमाणित भयो । त्यहाँ के पाइयो भने जजसलाई त्यस्तो म्यासेज पठाइएको थिएन तिनीहरुको भन्दा म्यासेज पाउनेहरुको उत्पादकत्वस्तर ६.७ प्रतिशतले बढेको थियो । प्रशंसा गरिने भनिएको म्यासेजको प्रभाव पनि यस्तै यस्तै परेको थियो, यस्तो म्यासेज पाउनेहरुको उत्पादकत्वस्तर ६.६ प्रतिशत बढेको पाइयो । गजबको कुरा त के भने नगद बोनसको प्रस्ताव गरिएको म्यासेज पाउने कामदारहरु ४.९ प्रतिशत मोटिभेट भए र पैसा पाएको दुई दिनपछि तिनीहरु १३.२ प्रतिशतले कम उत्पादनशील भए । जब पूरै हप्ताको उत्पादकत्वस्तरको परीक्षण गरियो तब के देखियो भने प्रशंसाले पिज्जाभन्दा बढी प्रोत्साहन दिएको रहेछ ।

यसकारण अब आइन्दा जब तपाइँले कसैलाई बढी कामका लागि प्रोत्साहित गर्न चाहनु हुन्छ भने पैसाको साटो तिनलाई फ्री पिज्जा अथवा उनलाई मनपर्ने भोजन अफर गर्नुहोला ।