सरकारका पक्षमा देखिएका लगानीकर्ता बजारघटेपछि आक्रोशित

सेयर किन्दा केका लागि किनेको र किन बेच्ने भन्ने स्वाभाविक जवाफ लगानीकर्ताले आफँैसँग नराखेमा बजारको चक्रव्यूहमा जो पनि पर्न सक्छ । यसका लागि जिम्मेवार हुने स्वयम् लगानीकर्ता नै हो, न कि सरकार ।

साताको दोस्रो दिन सोमबार नेपालको पुँजीबजारमा ठूलो धक्का लागेको छ । आइतबार चैते दशैं (रामनवमी पर्व)का कारण सार्वजनिक विदापछि खुलेको ४२ मिनटमै ‘सर्किट ब्रेक’ (४५ मिनटभित्र ३ प्रतिशतभन्दा बढी वा कम हुने गरी बजार प्रभावित भए) पछि १५ मिनटलाई बन्द भएको बजार (नेपाल स्टक एक्सचेन्ज परिसूचक–नेप्से) दिनभर ५१.८९ अङ्क अर्थात् ४.२५ प्रतिशतले घटेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा आइतबार संयुक्त रुपमा आयोजित कार्यक्रममा सरकारले सेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएको र हस्तक्षेप नगरेको बताएपछि बजार घटेको आरोप लागेको छ । अस्वाभाविक रुपमा बढाइएको बजार अहिले सेयरको बढी आपूर्तिका कारण घट्न पुगेको र सेयर बजार घट्नु अनौठो नभएको उनले बताएका थिए । कम्पनीको ‘प्रोफाइल’ नहेरी लगानी नगर्न र दीर्घकालीन रुपमा सोच्न आग्रह गर्दै अर्थमन्त्री खतिवडाले लहडबाजीमा लगानी नगर्न अनुरोध गरेका थिए । उनले त्यहाँ अर्थशास्त्रका सामान्य सिद्धान्तसमेत पढाउँदै बैङ्कले पुँजी बढाउँदा सेयर थपिएको, नयाँ नयाँ जलविद्युत् कम्पनीका साधारण सेयर (आईपीओ) बजारमा आईरहेकाले सेयर आपूर्ति बढ्दा बजार घट्न पुगेकाले आत्तिनुपर्ने स्थिति नरहेको बताएका थिए ।

अर्थमन्त्री नियुक्त भएको भोलिपल्ट फागुन १५ गते नेप्से ५.८६ अङ्कले बढेको थियो । त्यसदिन सुरुमा २० अङ्कभन्दा बढी बढेर अर्थमन्त्रीलाई भव्य स्वागत गरेको बजार अन्तिम समयमा आएर करिब ६ अङ्कमा रोकिएको थियो । यसले अर्थमन्त्री खतिवडाप्रति बजारले सकारात्मक प्रभाव पारेको थियो । त्यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएको दिन फागुन ३ गते पनि नेप्से ३६.०१ अङ्कले बढेर सरकारको भव्य स्वागत गरेको थियो । ओली प्रधानमन्त्री नियुक्त भएपछि र खतिवडा अर्थमन्त्री बन्ने हल्ला चल्न थालेदेखि बजार क्रमशः घट्ने चरणमा थियो । खतिवडा अर्थमन्त्री बनेका दिन बजार बढेका कारण लगानीकर्ताले अर्थमन्त्रीलाई विश्वास गरेको देखिन्छ । त्यसयता पटक पटक अनेकन बहाना बनाएर बजार घटेको भन्ने र त्यसको दोष सरकार र खासगरी अर्थमन्त्री खतिवडामाथि लगाउने गरिएको छ । यसअघि बजार खस्किँदा सामूहिक लगानी कोष नभएकाले समस्या आएको भन्ने गरिन्थ्यो । अहिले लगानीकर्ताको त्यो भनाइ पनि आउन छाडेको छ । लगानीकर्ताले लगानी गर्ने हो, बजारमा के हुन्छ र कसरी कारोबार गरेर बजार बढाउने वा घटाउने अभियान सञ्चालन गर्नु सरकारको दायित्व होइन ।

सरकार सेयर बजारप्रति सकारात्मक नदेखिएपछि नेप्से एकपछि अर्को न्यून बिन्दु बनाएको सेयर लगानीकर्ता सङ्घका अध्यक्ष उत्तम अर्यालले बताए । अहिलेको बजारलाई सरकारको स्पष्ट दृष्टिकोणको खाँचो रहेको उनले बताए । बजार निरन्तर घटिरहँदा धेरैले सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाउने गरेका छन् । लगानीकर्ता सङ्घ÷संस्थाका प्रतिनिधि भनेर आउने व्यक्तिहरु र केही दलाल कम्पनीका प्रतिनिधिहरुले स्थिर सरकार बनेपछि बजार बढ्नैपर्छ भन्ने ढङ्गले व्याख्या गरेको पाइन्छ ।

तर, वास्तविकता त्यस्तो होइन । बजारको आफ्नो गति हुन्छ र त्यसले आगामी दिनमा प्राप्त गर्ने लक्ष्य के हो भन्ने निर्धारण गर्नुपर्छ । अहिलेको परिस्थितिमा बजारको लक्ष्य के हो भन्नेबारे कसैसँग जवाफ छैन । सरकारका प्रतिनिधिले कहीँकतै कुनै विषय उठाए भने यो वा त्यो बहाना बनाएर कुत्सित महत्वकाङ्क्षा पूरा गर्न केही समूह एकोहोरो लागिपरेको देखिन्छ । यसले सरकारमाथि दबाब बढाउला भन्ने धेरै भ्रममा छन् । स्वाभाविक सवाल छ, आफ्नो सम्पत्ति अनुमतिबिना कसैले लिँदैन । सेयर किन्दा केका लागि किनेको र किन बेच्ने भन्ने स्वाभाविक जवाफ लगानीकर्ताले आफँैसँग नराखेमा बजारको चक्रव्यूहमा जो पनि पर्न सक्छ । यसका लागि जिम्मेवार हुने स्वयम् लगानीकर्ता नै हो, न कि सरकार । खासगरी अहिले कथित लगानीकर्ता सङ्घका तर्फबाट आउने भनाइ प्रधानमन्त्री वा अर्थमन्त्रीले आफूहरुलाई भेट नदिएर बजार घटेको भन्ने आशयका छन् ।

सेयर बजारमा कसले के भन्छ भन्दा पनि आफूले किन्ने सेयरको बारेमा पर्याप्त जानकारी र सूचना लिएर मात्र किन्नु पर्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले बताए । ‘सेयर बजारमा हल्लाको भरमा किन्ने वा बेच्न हुँदैन’, उनले भने, ‘सेयर किन्ने कम्पनीको अवस्थालाई पर्याप्त अध्ययन गरेर निर्णय लिनु पर्छ ।’ नयाँ सरकार आएको भएपनि तत्काल नै सेयर बजारको नीति परिवर्तन नहुने हुनाले आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

सरकार भर्खरै बनेको छ । अघिल्लो सरकारले बनाएका नीति तथा कार्यक्रम लिएर अघि बढेको छ । तर, केही नवबुजु्रक विश्लेषक र लगानीकर्ताहरु सरकारले बजार विस्तार हुने कार्यक्रम ल्याएन भनेर चिच्याइरहेका छन् । त्यो बजार विस्तार हुने नयाँ कार्यक्रम भनेको के हो ? कि फेरि पुँजी वृद्धि कार्यक्रम नै ल्याउनुपर्ने हो ? नेपालको पुँजी बजार वृद्धिमा जहिले पनि पुँजी वृद्धि कार्यक्रमले सघाएको छ । जब पुँजी वृद्धि कार्यक्रम सकिन्छ, बजार विस्तारै ओरालो लाग्ने गरेको छ । किनभने पुँजी वृद्धिले हकप्रद र बोनस सेयरमार्फत सेयरको अधिक चाप बजारमा पर्छ । हकप्रद सेयर खरिद गर्दा ठूलो रकम आवश्यक पर्ने भएकाले पनि लगानीकर्ता आत्तिने र सेयर बेच्ने गर्छन् । पुँजी वृद्धि कार्यक्रममा बैङ्कबाटै ऋण लिएर हकप्रद भर्ने र फेरि बजार घट्दा त्यसको छिटो प्रभाव बजारमै देखिने भएकाले बजार झनै घट्ने गरेको छ । नेपाली लगानीकर्ता हकप्रद र बोनस सेयरका लागि आफ्नो पैसा दाउमा राख्ने गरेका छन् । असली बजार त्यतिबेला मात्रै सम्भव हुन्छ, जतिबेला कम्पनीले कति नगद लाभांस दिन्छ भनेर लगानीकर्ताले हेर्छन् । यतिबेला मात्रै पुँजी बजारलाई अर्थतन्त्रको ऐना मान्न सकिन्छ । विगतमा पनि देखेका छौं, अर्थतन्त्रका सबै अवयव नकारात्मक हुँदा पनि बजार बढेको छ र अर्थतन्त्रका अवयव सकारात्मक हुँदा बजार घटेको छ । अहिले अर्थतन्त्र खासै सकारात्मक अवस्थामा छैन, तर लगानीकर्ता आफ्नो सेयर मूल्य बढ्नुपर्छ भन्ने एकोहोरो रटानले बजार झनै प्रभावित भएको छ ।

बजारलाई आधुनिकीकरण गर्ने र प्रविधिमैत्री बनाउने काम विस्तारै अघि बढ्ने क्रममा छन्, हुन्छन् । यी काम कुनै सरकार आउने बित्तिकै जादुको छडी जसरी तत्कालै निर्माण हुन सम्भव छैन । बजारमा लगानीयोग्य रकम (तरलता अभाव), ब्याजदरको बढ्दो बेथिति सरकारले चाहने बित्तिकै ‘छुमन्तर’का भरमा हल हुने विषय हो र ?

कारोबार कारोबार सुरु हुँदा १२२०.४४ अङ्कमा रहेको नेप्से ५१.८९ अङ्कले घटेर ११६८.५५ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १०.७६ अङ्कले घटेको छ । सेयर बजारको कुल बजार पुँजीकरण पनि ६१ अर्ब रुपैयाँले घटेर १३ खर्ब ६८ अर्बमा झरेको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्सेको कुल बजार पुँजीकरण १४ खर्ब २९ अर्ब थियो । २०७३ साउन १२ मा सबैभन्दा उच्च १८८१ अङ्कमा पुगेको नेप्से निरन्तर घट्दो क्रममा छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि करिब ३ सय अङ्कले बजार घट्यो भनेर भन्ने हो भने कस्तो दूरदर्शिताका कारण यसअघि साढे ३ सय अङ्कले बजार घट्यो भन्ने प्रश्न वर्तमान सरकारले सोधे त्यसको जवाफ कसले दिने ?

नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ४१.९८, विकास बैङक ५१.२७, जलविद्युत् ६९.४९, लघुवित्त ७५.५२, बिमा ३८३.९२, वित्त समूह ४.७२, अन्य २१.९४, होटल ८१.३४ र उत्पादनमूलक समूह भने ६०.९५ अङ्कले घटेका छन् । नेप्सेमा १५७ कम्पनीको ७ हजार ४ सय ८८ कारोबारबाट ४७ करोड ३३ लाख रुपैयाँ बराबरको १५ लाख ५८ हजार ८ सय ४ कित्ता सेयर खरिद बिक्री भएको छ ।