बजार घट्दा रोइकराइ र सरकारमाथि आक्रमण, बढ्दा स्वाभाविक

समयका हिसाबले आत्तिने गरी बजार घट्ने र मात्तिने गरी बजार बढ्ने उपयुक्त समय यो होइन । तेस्रो त्रैमासिकको अन्तिम महिना भएकाले पनि ऋण प्रयोगकर्ता लगानीकर्ता बढी दबाबमा रहने गर्दछन् । सरकारको नीति तथा कार्यक्रम आउन पनि अझै २ महिना कुर्नैपर्छ । बजारमा तरलता अभाव उस्तै छ । शोधनान्तर स्थिति ऋणात्मक छ । विप्रेषण आप्रवाहको रफ्तार सुस्त छ । ब्याजदर घट्दो होइन, अनेक बहानामा बढ्दो क्रममा छ । राम्रो पक्ष भनेको सरकार स्थिर छ । तर, सङ्घीयता संरचनाका कारण आगामी दिनमा स्रोत कसरी जुट्छ भन्ने जटिल प्रश्न सरकारसामु छ ।

जब सरकारका कुनै प्रतिनिधिले सेयर बजारसम्बन्धी प्रतिक्रिया दिन्छन्, लगानीकर्ता त्यसैलाई हौवा बनाएर बजारमा चलखेल गर्न खोज्छन् र बजारमा घटबढ सुरु हुन्छ । तर, बजार बढ्न घट्न न कुनै कारण चाहिन्छ न त बजारको उदेश्य नै प्रतिबिम्बित हुन्छ । हो, त्यस्तै देखिएको छ, केही दिनयताको नेपालको सेयर बजार । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) सोमबार एकाएक करिब ५२ अङ्कको गिरावट आयो । लगानीकर्ता त्राहिमाम भए । लगानीकर्ताका नाममा खुलेका सङ्घरसंस्था अर्थमन्त्री डा. युवराज खतिवडालाई धारे हात लगाउन थाले ।

मङ्गलबार पनि बजार ३५ अङ्कले झ¥यो र लगानीकर्ताको रोइलो कायमै थियो । तर, बजार बन्द हुनु केही समयअघि देखि एकाएक बजारमा चमत्कार भयो र नेप्से परिसूचकमा ठूलो वृद्धि देखियो । आजकै न्यूनतम अङ्कलाई पछ्याउने हो भने नेप्सेमा करिब ७३ अङ्कको वृद्धि देखियो भने सोमबार बन्द भएको बिन्दु हेर्दा ३९.१६ अङ्कको बढोत्तरी देखियो । यसरी एकाएक बजार न्यूनतातर्फ जानु र बढ्नुबीचमा के तालमेल छ भन्ने वास्तविक लगानीकर्ताले भेउ पाउनै सकेनन् । आज मध्याह्नसम्म अर्थमन्त्री खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने पनि समय नदिएको र अर्थमन्त्री खतिवडाका विरुद्ध खनिएका लगानीकर्ता सङ्घसंस्थाका प्रतिनिधि बजार बढेपछि मौन छन् र छिटो नाफा खोज्ने प्रवृत्तिका कारण यस्तो अवस्था आएको बताउन थालेका छन् ।

हिजो मात्रै नेपाल इन्भेस्टर्स फोरमले १९ बुँदे माग राख्दै ७ दिनभित्र पूरा नभए आन्दोलन गर्ने धम्की दिएर सरकारलाई दबाब दिन खोजेको छ । तर, आज एकाएक बजारमा वृद्धि भएपछि अब लगानीकर्ताको आन्दोलन केही समयका लागि मौन रहनेछ । किनकि विगतमा पनि लगानीकर्ता भन्नेहरु बजार घट्दा आत्तिने र बढ्दा हाम्रा कारण बजार विस्तार भएको भन्ने गर्थे । सेयरबारे राष्ट्रिय सभामा मङ्गलबार कुरा उठेपछि धेरैले सकारात्मक हुने अपेक्षा गरेका छन् ।

अर्थमन्त्रीलाई दोष दिँदै आएका सेयर लगानीकर्ता मङ्गलबार बजारप्रति सकारात्मक हुनका लागि कुनै नीतिगत निर्णय नभएको लगानीकर्ता विष्णु भण्डारी बताउँछन् । सेयर खरिद गर्नेभन्दा पनि बजारको छिटो लाभ लिनका लागि लगानीकर्ता सक्रिय भएपछि मङ्गलबार बजार बढेको उनले बताए ।
मङ्गलबार बजार बढे पनि के कारणले भन्ने सतहमा देखिएको छैन । सरकारले श्वेतपत्रमा सम्बोधन गर्छ भन्ने आधार खोज्ने हो भने श्वेतपत्रले अर्थतन्त्रको वास्तविक स्थिति केलाउने हो, त्यो सरकारी नीति तथा कार्यक्रम होइन । र, सेयर बजारलाई कसरी सम्बोधन हुन्छ भन्ने कुनै आधिकारिक धारणा हुँदैन ।

अर्कोतिर समयका हिसाबले आत्तिने गरी बजार घट््ने र मात्तिने गरी बजार बढ्ने उपयुक्त समय यो होइन । तेस्रो त्रैमासिकको अन्तिम महिना भएकाले पनि ऋण प्रयोगकर्ता लगानीकर्ता बढी दबाबमा रहने गर्दछन् । सरकारको नीति तथा कार्यक्रम आउन पनि अझै २ महिना कुर्नैपर्छ । बजारमा तरलता (लगानीयोग्य रकम) अभाव उस्तै छ । मुलुकभित्र आउने र मुलुकबाहिर जाने रकमको अन्तर (शोधनान्तर स्थिति) ऋणात्मक नै छ । विप्रेषण आप्रवाहको रफ्तार सुस्त छ । आर्थिक वृद्धिदर चालू वर्षको लक्ष्यभन्दा कम हुने सरकारले बजेटको मध्यावधि समीक्षामा घटाएर ६ प्रतिशत बनाएको छ ।

अहिलेको राम्रो पक्ष भनेको सरकार स्थिर छ । तर, सङ्घीयता संरचनाका कारण आगामी दिनमा स्रोत कसरी जुट्छ भन्ने जटिल प्रश्न सरकारसामु छ । त्यसले लगानीकर्तामा सकारात्मक वा नकारात्मक असर पु¥याउने देखिन्छ । चालू वर्षमै सरकारले गर्नुपर्ने खर्च राम्रोसँग गर्न सकेको छैन । त्यसैगरी पुँजी वृद्धिका कारण कम्पनीहरुले दिने बोनस तथा हकप्रद सेयर करिब करिब सकिएको स्थिति छ । ब्याजदर घट्ने कुरै छैन, यो वा त्यो बहानामा बढ्दो नै छ । त्यसैले बजार अहिले नै आवेशमा आएर बढ्नुपर्ने कुनै कारण देखिँदैन भने घट्नका लागि पनि पर्याप्त आधार छैनन् ।

मङ्गलबार कारोबार सुरु हुँदा ११६८.५५ अङ्कमा रहेको नेप्से ३९.१६ अङ्कले बढेर १२०७.७१ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ९.०९ अङ्कले बढेको छ ।

मङ्गलबार नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ३३.२७, विकास बैङ्क ४१.७, जलविद्युत् ६१.७७, लघुवित्त ६५.५, बिमा ३९३.८६, वित्त समूह २.४३, अन्य ३.८८, होटल १२६.२६ र उत्पादनमूलक समूह भने १४.७६ अङ्कले अङ्कले बढेका छन् । तर, व्यापार समूह मात्र ३.१३ अङ्कले घटेको छ । नेप्सेमा १६६ कम्पनीको ७ हजार १ सय ४१ कारोबारवाट ५० करोड ६१ लाख रुपैयाँबराबरको १५ लाख ११ हजार ६ सय ४० कित्ता सेयर खरिदबिक्री भएको छ ।