दैनिक ब्यापारमा ‘राउण्डेड बटम’

नेप्से परिसूचकको दैनिक ब्यापारमा ‘राउण्डेड बटम’ (अंग्रेजी अक्षर ‘यू’को आकृति) तयार भएको छ । यो आकृतिले सामान्य अर्थमा बजार बढ्ने संकेत गर्छ । तर प्राविधिक विश्लेषणको यो औजार एक दिनको ब्यापारलाई केन्द्रित गरेर कमैमात्र प्रयोग गरिन्छ । अर्थात्, एकै दिनको ब्यापारमा यस्तो आकृति देखा पर्दा बजार बढ्छ भन्ने विश्वसनीयता भने कम हुन्छ ।

पछिल्ला दिनमा सेयर बजारका केही ठूला लगानीकर्ताले बजार बढाएर आफु बाहिरिने रणनीति अपनाउन थालेको ब्रोकरहरुले बताएका छन् । बजारको प्रबृत्ति हेर्दा पनि त्यसबारे संका गर्नसक्ने खालको देखिएको छ ।
विहीवार नेप्से १ दशमलव ५५ अंक (शुन्य दशमलव १ प्रतिशत) बढेको छ । अघिल्ला दिनमा ओरालो लागेको उत्पादन समूहबाहेक विकास बैंक र रफाइनान्स कम्पनीको समूहगत परिसूचक पनि विहीवार ओर्लिएका छन् । बाँकी समूहको परिसूचक भने उकालो लाग्ने क्रममा नै छन् ।

 

विहीवार नेप्सेमा युनाइटेड इन्स्योरेन्सको सेयर सर्वाधिक ४ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ । यस दिन युनाइटेडको सेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेको पनि छ । पाटन उच्च अदालतले हालैमात्र चौधरी ग्रुपलाई भुक्तानी गरेको २५ करोड रुपैयाँ फिर्ता गर्न आदेश दिएपछि कम्पनीको नाफा बढ्ने आशामा मूल्य बढेको हो । जानकी फाइनान्सको सेयर मूल्य भने सर्वाधिक ४ दशमलव ८५ प्रतिशत घटेको छ ।