बुटवल पावर कम्पनीको एफपीओ बाँडफाँट

बाँडफाँटअनुसार आवेदकले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म पाएका छन् ।

बुटवल पावर कम्पनी (बीपीसी) ले जारी गरेको नयाँ सेयर (फर्दर पब्लिक अफरिङ–एफपीओ) बाँडफाँट गरेको छ । बाँडफाँटअनुसार आवेदकले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म पाएका छन् ।

दुई अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँका लागि ४० लाख ८१ हजार कित्ता सेयर निष्कासन गरिएको थियो । प्रतिकित्ता ५ सय १ रुपैयाँमा निष्कासन गरिएको सेयर किन्न ८५ हजार ६ सय १४ जनाले मात्र आवेदन दिएका थिए । कुल परेको आवेदनबाट ८४ हजार ८ सय ४ जनालाई सेयर परेको छ ।

सेयर भरेका आवेदकले न्यूनतम १० र अधिकतम २० हजार ४ सय कित्तासम्म पाएको कम्पनीले जानकारी दिएको छ । २९ लाख २ हजार २ सय ७२ कित्ता खरिद गर्न आवेदन परेकोमा ७ सय ५८ आवेदकको ४३ हजार १ सय ६ कित्ता सेयर रद्द भएको छ । दोहोरो आवेदन परेको र प्रक्रिया नमिलेका आवेदन रद्द भएका हुन् । २१ हजार ३ सय २० कित्ता खरिद गर्न परेका ५२ आवेदन रद्द भएका छन् ।