काठमाडौँ उपत्यकामा ६० प्रतिशत थोपा सिँचाइ

नेपालमा इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिँचाइ लगायतका प्रविधि भित्र्याएका हुन् ।

काठमाडौंँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्न थालेका छन् ।

एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए ।

थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौँ उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ । ‘अहिले किसानमा पनि दिनभर पाइपले पानी हालेर मेहनत गर्नेभन्दा पनि छिटो र सजिलो कुरा खोजेका छन्’, उनले भने ।

काठमाडौंँ उपत्यका बाहिरका तरकारीखेती हुने जिल्लामा पानी पर्याप्त भएकाले र प्रविधि पहुँच नभएकाले पनि थोपा सिँचाइ फैलिन सकेको छैन । थोपा सिँचाइबाट बोटबिरुवालाई पानी हाल्दा उत्पादन बढ्ने भट्ट बताउँछन् ।

पाइपबाट पानी हाल्दा लामो समयसम्म सुख्खा बिरुवाले एकै पटक ह्वात्तै पानी पाउँछ । थोपा सिँचाइबाट पानी हाल्दा बिरुवाले चाहिने मात्रामा र जरामा नै पानी पुग्छ । ‘यो विधिबाट बिरुवा सुक्न र एकै पटक बिरुवामा बाढी जसरी नै पानी ह्वात्तै जान पाउँदैन,’ उनले भने ।

एक किलो गोलभेँडा फलाउनका लागि थोपा सिँचाइबाट औसत चार लिटर र पाइपबाट औसत ४० लिटर पानी आवश्यक पर्छ । नेपालमा इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिँचाइ लगायतका प्रविधि भित्र्याएका हुन् ।