आज (आईतबार) भएको सेयर बाँडफाँटमा ५० देखि ७० कित्तासम्म आवेदन गर्ने सञ्चयकर्तालाई मागबमोजिम सेयर बाँडफाँट गरिएको छ ।
रसुवागढी हाईड्रोपावर कम्पनीमा सेयर आवेदन दिने सञ्चयकर्ताले अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् । आज (आईतबार) भएको सेयर बाँडफाँटमा ५० देखि ७० कित्तासम्म आवेदन गर्ने सञ्चयकर्तालाई मागबमोजिम सेयर बाँडफाँट गरिएको छ ।
तर, ७० कित्ताभन्दा बढी सेयर माग गर्नेका हकमा भने गोला प्रथामार्फत थप १० कित्ता सेयर बाँडफाँट गरिएको छ । गोला प्रथामार्फत ८० देखि ५ सय कित्तासम्म सेयर माग गर्ने ६८ हजार १८ जनालाई ८० कित्ता सेयर बाँडफाँट भएको छ भने ५ जनालाई गोला प्रथामार्फत एक÷एक कित्ता गरी ७१ कित्ता दिइएको छ । ८० देखि ५ सय कित्ता आवेदन गर्ने सञ्चयकर्तामध्ये ९४ हजार ६ सय १६ जनाले भने ७० कित्ता नै सेयर पाएका छन् ।
एक लाख ८७ हजार ८ सय ८७ सञ्चयकर्ताले रसुवागढीको सेयर माग गरेकोमा १ सय ८५ जनाको सेयर आवेदन भने रद्द भएको छ । कम्पनीले फागुन ११ गते देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि सेयर आवेदन मागेको थियो । त्यसमा न्यूनतम ५० कित्ता र अधिकतम ५ सय कित्तासम्म आवेदन गर्ने व्यवस्था थियो । सीआस्बामार्फत सेयर आवेदन लिएपनि प्राविधिक कारण देखाउँदै बाँडफाँटमा ढिलाइ भएको थियो ।
त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीका सञ्चयकर्ता आवेदक सबैले ३० कित्ता सेयर प्राप्त गरेका छन् भने थप १ लाख ५६ हजार ६ सय ४५ जनाले थप १० कित्ता सेयर पाएका छन् । १ लाख ८५ हजार ३५ जना सञ्चयकर्ताले ५० देखि ३ सय कित्तासम्म सेयर माग गरेका थिए । कम्पनीमा न्यूनतम ५० कित्ता र अधिकतम ३ सय कित्ता सेयर भर्न पाइने सुविधा दिइएको थियो ।
सान्जेनले पनि फागुन ११ देखि ३० गतेसम्म सेयर आवेदन भर्न पाइने व्यवस्था गरेको थियो ।