सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सरकारले गत शुक्रबार श्वेतपत्र सार्वजनिक गरेसँगै बजारमा व्यापक गिरावट आउने अपेक्षाका बाबजुत बजार स्थिरतातर्फ उन्मुख भएको हो । त्यसअघिको साता बजारमा तीव्र उताचढाव देखिएको थियो ।

दिनानुदिन घट्दै गएको सेयर बजारमा मङ्गलबार भने सामान्य सुधार देखिएको छ । सेयर बजार मापम नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ६.०४ अङ्कले सुधार आएको हो । सोमबार पनि ३.२८ अङ्कले घटेको नेप्से आइतबार भने २४.०५ अङ्कले घटेको थियो । साताको ३ दिनको सेयरको कारोबारलाई हेर्दा यो साता पनि बजार १२०० अङ्ककै वरिपरि रहने सङ्केत गरेको छ ।

सरकारले गत शुक्रबार श्वेतपत्र सार्वजनिक गरेसँगै बजारमा व्यापक गिरावट आउने अपेक्षाका बाबजुत बजार स्थिरतातर्फ उन्मुख भएको हो । त्यसअघिको साता बजारमा तीव्र उताचढाव देखिएको थियो । गत साता एकै दिन सर्किट ब्रेक लाग्ने गरी घटेको बजारमा अर्को दिन ३५ अङ्कसम्मले घटेको बजार पछि एकाएक ७३ अङ्कसम्मको ‘बाउन्स ब्याक’ भएको थियो ।

त्यसै पनि चैत महिना सेयर कारोबारका लागि निरस मानिन्छ । किनभने तेस्रो त्रैमासको अन्तिम महिना र सेयर धितोको कर्जामा साँवा तथा ब्याज फिर्ताका लागि बैङ्कहरुबाट आउने दबाब हुन्छ भने अर्कोतिर सेयर बजार घटेको बेला आउने मार्जिन कल त छँदै छ । त्यसैगरी करदाताहरुले ठूलो रकम करका रुपमा भुक्तानी गर्नुपर्ने हुँदा बजारमा पुँजीको थप अभाव हुन्छ । यो समयमा बजारमा भएको उतारचढावबाट आउने लाभबाहेक सेयर लगानीकर्ताले खासै केही प्रतिफल पाउँदैनन् र अर्को वर्ष प्राप्त गर्ने लाभांशका लागि लामो समय परिर्खनुपर्ने भएकाले पनि धेरै लगानीकर्ता यतिबेला आफूसँगको सेयर बेच्न तल्लीन हुन्छन्, जसको असर बजारमा नकारात्मक रुपमा पर्छ ।

मङ्गलबार कारोबार सुरु भएदेखि नै बजार बढ्ने कोसिसमा रहे पनि अन्तिम समयमा मात्रै सम्भव भएको हो । नेप्सेमा सूचीकृत १० उपसूचकमध्ये वित्त कम्पनीबाहेक अन्य सबै उपसूचकमा वृद्धि देखिएपछि समग्र नेप्से उकालो लागेको हो । मङ्गलबार ३ हजार ५ सय ८४ कारोबारबाट ६ लाख ६६ हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री भई २१ करोड ८१ लाख ६६ हजार ३ सय १६ रुपैयाँबराबरको कारोबार भएको छ । सोमबार २० करोड ५९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।