सेयर धितोकर्जाको सीमा ८० प्रतिशत बनाउन लगानीकर्ताको लबिङ, बजार साढे ११ अङ्कले बढ्यो

बुधबार नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी लगानीकर्ताले सेयर बजार सुधार गर्न भन्दै ४ बुँदे मागपत्र थमाएका छन् ।

सेयर लगानीकर्ताले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत पु¥याउन माग गरेका छन् । बुधबार नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी लगानीकर्ताले सेयर बजार सुधार गर्न भन्दै ४ बुँदे मागपत्र थमाएका छन् । अहिले सेयर धितो कर्जा सीमा बजार मूल्यको ५० प्रतिशत मात्रै छ ।

लगानीकर्तासँगको भेटमा गभर्नर नेपालले सेयर बजार निरन्तर घटेकोप्रति राष्ट्र बैङ्क चिन्तित रहेको बताउँदै समस्या समाधानमा केन्द्रीय बैङ्क सचेत रहेको बताए । बैङ्कहरुमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएको भन्दै लगानीकर्ता आत्तिनु पर्ने स्थिति नरहेको भनेर गभर्नरले लगानीकर्तालाई ढाढस दिएको बताइएको छ ।

नेपाल पुँजी बजार लगानीकर्ता सङ्घ र नोबल इनिसियसन नेपालका प्रतिनिधि मण्डलले नेपालको पुँजीबजार निरन्तर घट्ने क्रममा रहेको र सेयर मूल्य न्यून बिन्दुमा पुग्दा लगानीकर्ता चरम मारमा परेको दाबी गर्दै गभर्नर नेपाललाई बजार सुधार गर्ने बाटो खोल्न माग गरेका हुन् । उनीहरुले मागपत्रमा सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत बनाउनु पर्ने, सेयर धितो कर्जामा लगाइएको पुँजीगत जोखिमको भार १ सय ५० प्रतिशतबाट घटाएर सतप्रतिशत कायम गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा पहँुच पुग्नेगरी वाणिज्य बैङ्कलाई दलाल अनुमति (ब्रोकर लाइसेन्स) दिनुपर्ने, सेयर धितो कर्जा प्रवाह गर्दाका बखतमा आएको हकप्रद सेयर तथा बोनस सेयरलाई समेत धितोमा समावेश गर्ने व्यवस्था गर्न भनेका छन् । यसअघि पनि बजार घट्दा लगानीकर्ताले यस्तै माग राख्ने गरेका थिए । तर, बजार बढ्न थालेपछि लगानीकर्ता माग थाँती राख्ने गर्छन् ।

नेपाल इन्भेस्टर्स फोरमले पनि विभिन्न १९ बुँदे मागपत्र पेस गर्दै पूरा नभए आन्दोलनमा जाने धम्की दिएको थियो । तर, फोरम सम्बद्ध व्यक्तिहरुले अर्थमन्त्री डा. युवराज खतिवडाले गत साता ल्याएको श्वेतपत्रले सेयर बजारको वास्तविक अवस्था औंल्याएको भन्दै बजार सुधार हुने बताउँदै आएका थिए । यो साता आईतबार र सोमबार बजार घटेपनि मङ्गलबार भने बजारमा ६ अङ्कको सुधार आएको थियो । बुधबार साढे १ बजेसम्म सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ११.५ अङ्कले बढेको छ ।

बुधबार बिहानैदेखि समस्या देखिएको नप्ेसे साईट दिउँसोबाट चलेको छ । नेप्सेको साईट नचलेपनि कारोबार भइरहेकाले लगानीकर्ता अन्योलमा थिए । नेप्सेले भने सर्भरमा समस्या आएको बताएको थियो ।