सहकारी महासम्मेलन सुरु

दोस्रो सहकारी महासम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै ओलीले दुई तिहाई जनसङ्ख्या कृषिमा आबद्ध भए पनि अर्थतन्त्रमा एक चौथाइ मात्र योगदान दिएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् । दोस्रो सहकारी महासम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै ओलीले दुई तिहाई जनसङ्ख्या कृषिमा आबद्ध भए पनि अर्थतन्त्रमा एक चौथाइ मात्र योगदान दिएको भन्दै चिन्ता व्यक्त गरे । ‘झट्ट सुन्दा अचम्म लाग्न सक्छ,’ ओलीले भने, ‘कृषिमा अलमलिएको जनसङ्ख्या घटाउनु पर्छ ।’

कृषिमा निर्भर जनसङ्ख्यालाई अन्य क्षेत्रमा लगाउँदै सहकारीको परिचालन गरेर कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्नुपर्ने बताए । ‘अधिकांश जमिन टुक्रा–टुक्रा भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब उत्पादन बढाउन सहकारीबाहेक अर्को उपाय छैन ।’ उनले सहकारीमार्फत उत्पादन र उत्पादकत्व बढाउनु पर्नेमा जोड दिए । सहकारी क्षेत्रमा देखिएका विकृतिलाई हटाउँदै अघि बढ्नु पर्ने ओलीले बताए । देशको अर्थतन्त्र अप्ठ्यारो बाटोमा पुगेको भन्दै अब सही ट्र्याकमा ल्याउने प्रधानमन्त्रीले बताए ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घ नेपालको संयुक्त आयोजनामा सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले तीन खम्बे अर्थनीतिमा सहकारी एउटा प्रमुख अङ्ग भएकाले सहकारी क्षेत्रले दायित्व पूरा गर्नुपर्ने बताए । ‘सहकारी क्षेत्रको पुँजीलाई उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ,’ खतिवडाले भने, ‘सहकारीको सङ्ख्यासँगै गुणात्मक विकास गर्नुपर्छ ।’ सहकारी ऐन–२०७४ मा भएका कमजोरीलाई पनि सच्याउन सरकार तयार रहेको खतिवडाले बताए ।

राष्ट्रिय सहकारी महासङ्घ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा भएको सम्मेलनमा ओलीले सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सहकारीले एकीकृत उत्पादनमा जोड दिनुपर्ने बताए । ‘कृषिका सबै क्षेत्रलाई एकीकृत ढङ्गले अघि बढाउन आवश्यक छ’ उनले भने, ‘सहकारीमार्फत आर्थिक रुपान्तरण सम्भव छ ।’

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा ११ ओटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । महासम्मेलनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपिनाथ मैनालीले नेपालको सहकारी अभियान ः २०२२ सम्मको कार्यदिशा, खिमलाल देवकोटाले सहकारीको प्रवद्र्धनमा सरकारका विभिन्न तहको भूमिका, प्राध्यापक पुष्पराज कँडेलले दिगो विकास लक्ष्य र यसको कार्यान्वयनका लागि सहकारी क्षेत्रको सहभागिता, पूर्व मूख्यसचिव विमल कोइरालाले वित्तीय सहकारी, चुनौती र सम्भावना, रामशरण खरेलले तीन खम्बे अर्थनीतिका सन्दर्भमा सहकारी, निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । सहकारी क्षेत्रका समस्या पहिचान गरी नयाँ रणनीति तय गर्ने राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले बताए ।

सम्मेलनमा स्वदेशसहित विदेशका गरी करिब एक हजार सहकारी अभियन्ता सहभागी छन् । सम्मेलनमा नेपालसहित भारत, चीन, जापान, कोरिया, मलेसिया, सिङ्गापुर, श्रीलङ्का, पाकिस्तान र इन्डोनेसियाका सहकारी अभियन्ता सहभागी छन् ।