बुधबार २७ अङ्कले बढेको सेयर बजार परिसूचक बिहीबार पनि करिब २४ अङ्कले बढेको हो ।
सेयर बजारमा सुधार आउने क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । बुधबार २७ अङ्कले बढेको सेयर बजार परिसूचक बिहीबार पनि करिब २४ अङ्कले बढेको हो ।
बिहीबार अर्थमन्त्रीले सेयर दलाल तथा लगानीकर्तासँग बजारको विषयमा छलफल गरेपछि समग्र बजार सूचक बढेको हो । अर्थमन्त्रीले सेयर लगानीकर्तालाई सेयर बजारको सन्दर्भमा आफू नकारात्मक नभएको बताएपछि बजार सुधारको गतिलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । बिहीबार नेप्सेमा ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । वित्तीय प्रणालीमा निक्षेप बढ्न थालेपनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।
नेप्से कारोबार सुरु हुँदादेखि बन्द हुदाँसम्म निरन्तर बढिरह्यो । कारोबार कारोबार सुरु हुँदा १२२६.४५ अङ्कमा रहेको नेप्से २३.९४ अङ्कले बढेर बन्द हुँदा १२५०.३९ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले बढेको छ ।
नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये अधिकांश बढेका छन् । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्किङ १८.९९, विकास बैङ्क ३१.८१, जलविद्युत् ३५.७५, लघुवित्त ३५.४५, बिमा १७४.९५, होटल १४.७१, उत्पादनमूलक समूह ४९.५६, वित्त ५.१ र अन्य समूह ७.९२ अङ्कले बढेका छन् । तर, बिहीबार व्यापार समूहको कारोबार भएपनि कुनै परिवर्तन आउन सकेन ।
बिहीबार नेप्सेमा १६८ कम्पनीका ८ हजार ७ सय ५ कारोबारबाट ६१ करोड ९३ लाख रुपैयाँ बराबरको १५ लाख १४ हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री भएको छ ।