संसारभर लगानी गर्ने भारतीयले नेपालमा किन नगर्ने ? – प्रधानमन्त्री ओली

भारतका व्यवसायीमाझ प्रधानमन्त्री ओलीले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न प्रस्ताव गरेका छन् ।

भारतको तीन दिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत पुग्नेबित्तिकै त्यहाँका व्यवसायीहरुसँग छलफल गरेका छन् । भारतका व्यवसायीमाझ प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीले संसारभर लगानी गरिरहेको तर नेपालमा किन नगरेको भन्दै प्रश्न गरे ।

‘नेपाल लगानीका लागि सुरक्षित ठाउँ रहेको छ, स्थायी सरकार पनि बनेको छ त्यसैले नेपालमा लगानी गर्न अवसर छ,’ प्रधानमन्त्रीले भने । लगानीबोर्डका अध्यक्ष समेत रहेका ओलीले भारतीय लगानीकर्तालाई आकर्षित गर्दै नेपाल भारतसँग दुरीमा नजिक र वातावरण पनि राम्रो रहेकाले लगानीका लागि भर्जिन ठाउँ रहेको बताए ।

‘नेपाललाई अहिले ठूलो लगानी आवश्यक रहेको छ, धेरै क्षेत्रहरु लगानीका लागि भर्जिन छन्, त्यसैले नेपालमा इण्डियन लगानीकर्ता आउनु उपयुक्त हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीको सम्मानमा भारत बिजनेस फोरम (फिक्की) ले आयोजना गरेको सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीसँग नेपालका नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसहित ३ दर्जन व्यवसायी पनि भ्रमणमा रहेका छन् ।

ओलीले सम्बोधनमा नेपालमा ऊर्जाको सम्भावना व्यापक रहेकाले भारतीय व्यवसायीहरुले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । उनले भने, ‘द्विपक्षीय आर्थिक सम्बद्धतालाई अभिवृद्धि गर्न सबैले देख्नेखालको परिवर्तन गर्न नेपाल सरकार प्रतिबद्ध छ ।’

फिक्कीका वरिष्ठ कार्यकारी समितिका सदस्य, डेविन नारङ्गले भने, ‘हामीसँग नेपालमा जैविक–ऊर्जामा लगानी गर्ने एउटा ठूलो अवसर छ’, उनले अगाडि भने, ‘ऊर्जाको खपत एउटा ठूलो अवसर होः हामी नेपालले लगानीको प्रस्ताव गरेको देखेर खुसी छौं ।’

त्यस्तै सीएमडी, पीटीसी इन्डियाका दीपक अमिताभले हालको ट्रान्समिसन प्रसारण लाइनलाई अझ मजबुत बनाउन र नयाँ प्रसारणलाइनलाई अन्तरसम्बन्ध विकास गर्ने नेपालका योजनाहरुलाई बुझ्न चाहेको बताए । अमिताभ भन्छन्, ‘कनेक्टिभिटी, ऊर्जा, भौतिक पूर्वाधार, एकीकृत जाँच पोस्टको विकास नेपाल–भारत सहयोगका उत्कृष्ट सम्भावनाहरु हुन् र हामीले यी अवसरहरुलाई समात्नु पर्छ ।’