एफपीओका सेयरधनीलाई पनि दिनेगरी बुटवल पावरको २० प्रतिशत नगद लाभांश

आईतबारको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार नगद लाभांश थप सार्वजनिक निस्काशन (एफपीओ)बाट कायम सेयरधनीले पनि पाउनेछन् ।

बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ ।

आईतबारको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार नगद लाभांश थप सार्वजनिक निस्काशन (एफपीओ)बाट कायम सेयरधनीले पनि पाउनेछन् ।

कम्पनीले वार्षिक साधारणसभा आगामी जेठ ८ गते गर्ने निर्णय पनि गरेको छ । साधारणभाले पारित गरेपछि मात्रै नगद लाभांश वितरण हुनेछ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बैशाख २७ देखि जेठ ८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले गत माघमा ४० लाख ८१ हजार कित्ता एफपीओ ५०१ रुपैयाँमा प्रिमियमसहित निष्कासन गरेको थियो । एफपीओ निष्कासनसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले एफपीओ बाँडफाँट गरेसँगै धितोपत्र बोर्डबाट साधारणसभाको स्वीकृति पाएको हो । कम्पनीले गत आर्थिक वर्षमा ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीले निष्कासन गरेको एफपीओको मूल्य भन्दापनि तल बजार भाउ गएपछि कम्पनीको आलोचना भएको छ । नेप्सेमा कम्पनीको बजार मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ छ ।