सेयर बजारमा घटाउने र बढाउने खेल हाबी

बजारमा विभिन्न हल्ला फिँजार बजार आफ्नो अनुकूल बनाउन ती लगानीकर्ता सक्रिय भएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढाउने र घटाउने खेलमा केही लगानीकर्ता सक्रिय भएका छन् । बजारमा विभिन्न हल्ला फिँजार बजार आफ्नो अनुकूल बनाउन ती लगानीकर्ता सक्रिय भएका हुन् ।

पछिल्ला दिनहरुमा सेयर बजार परिसूचकमा अस्वाभाविक उतारचढाव भएको छ । कहिले अर्थमन्त्रीलाई दोष दिँदै बजार घटाए भने कहिले मारवाडी समुदायले बजारमा लगानी सुरु ग¥यो भन्दै बढाएका छन् । सेयर बजार बढाउने र घटाउने खेलमा साना लगानीकर्ता च्यापिएका च्यापिऐ छन् । सेयर बजारको अनुगमन कमजोर हुदाँ अनावश्यक हल्ला चलाएर बढाउने घटाउने खेल भएको लगानीकर्ता बद्री पौडेलले बताए । अर्थमन्त्रीका कारण ११६० को लाइनमा झरेको सेयर बजार मारवाडी समुदायको हल्ला चलाएर १३ सयभन्दा माथि पु¥याइएको उनले बताए । ‘बजारको उतार चढाव र कारोबार रकममा आएको आकस्मिक परिवर्तनले पनि सेयर बजार स्वाभाविक छैन’ उनले भने, ‘बजारको यस्तो अवस्थामा पनि धितोपत्र बोर्ड मौन बस्नु राम्रो होइन ।’

सोमबार करिब ७ अङ्कले घटेको नेप्से मङ्गलबार १७ अङ्कले घटेको छ । त्यसैगरी सोमबार ९४ करोडको कारोबार भएको सेयर बजारमा मङ्गलबार घटेर ३४ करोडमा सीमित भएको छ । बजारको यो उतार चढावलाई धितोपत्र बोर्डले पनि गहन रुपमा हेर्नुपर्ने देखिन्छ । सेयर बजारमा धितोपत्रको आपूर्ति बढ्नुका साथै वित्तीय क्षेत्रको ब्याजदरमा सुधार नआएसम्म बजारको दीर्घकालीन सुधार हुने सम्भावना देखिँदैन । तर, पछिल्लो समयमा बजार घटाउन र बढाउन विभिन्न समूह सक्रिय भएर बजारमा अनावश्यक हल्ला चलाउने अभ्यास भएको छ ।

मङ्गलबार कारोबार सुरु भएदेखि घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । हुन त कारोबार सुरु भएको करिब एक घण्टापछि केही सुधार आएको थियो, तर त्यो धेरै समय टिक्न सकेन । कारोबार सुरु हुँदा १२८७.७८ अङकमा रहेको नेप्से बन्द हुँदा १७.५५ अङ्कले घटेर १२७०.२३ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ ।

नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । बुधबार बैङ्किङ १५.१९, विकास बैङ्क १७.६४, वित्त ३.०९, बिमा ९४.६३, माइक्रोफाइनान्स २६.४६, होटल ४.१६, जलविद्युत् ४०.५८, अन्य ३.१५ र उत्पादनमूलक समूह ६९.५८ अङ्कले घटेका छन् ।

बुधबार नेप्सेमा १६० कम्पनीको ४ हजार ४ सय ४१ करोबारबाट ३४ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ८३ हजार १ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ ।